भारतमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन भेरिएन्ट’

प्रकाशित मिति:

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाई सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए । मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताए ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरे ।भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।