बन्दसत्र स्थलमा ‘सुनसान’, ओली बसेको पार्क सफारीमा नेताको घुइँचो

प्रकाशित मिति:

नेकपा एमालेको दसौं महाधिवेशन अहिले चितवनमा जारी छ। महाधिवेशनअन्तर्गत शनिबार बन्दसत्र सुरू भएको छ। उक्त बन्दसत्रले नयाँ नेतृत्व छान्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि चुनावबाट नयाँ नेतृत्व छानिने सम्भावना कमजोर छ।अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलको आपत्तीका बाबजुद अध्यक्ष ओलीले आज नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने तयारी गरिरहेका छन्।ओलीले नै अन्तिम निर्णय गर्ने भएपछि अहिले उनी बसेको होटलमा चहलपहल बढेको छ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नेको भीड होटलको लबी देखिनै भएपछि उनका स्वकिय सचिव राजेश बज्राचार्यले महाधिवेशन हलको बन्दसत्रजस्तै भइसक्यो भनेर भन्दै थिए। बिहानैदेखि भेट्न आउनेको भीड बढेपछि महाधिवेशन प्रतिनिधीहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।होटलको लबीमा बसिरहेका एक केन्द्रीय सदस्यले चुनाव नहुने भएपछि यता आएको बताए।‘केन्द्रीय कमिटीमा नाम आउँछ कि आउँदैन। चुनाव हुँदैन भनेर हिजोदेखि तयारी गर्न पनि छोडियो,’ उनले भने,‘नेताहरूले आश्वासन दिनुभएको छ। निवर्तमान केन्द्रीय सदस्य भएकोले नाम पर्छ होला।’पार्टीका विभिन्न पदका आकांक्षीहरू ओली बसेको पार्क सफारी रिसोर्ट आउन थालेका छन्। उनीसँग भेट्ने अनि फर्किने र भेटनका लागि पालो कुर्नेहरूले गर्दा पार्क सफारीको चहलपहल बढेको छ।रिसोर्टमा भीड हुने अनुमान गरेर रिसोर्ट व्यवस्थापनले गार्डेनमा कुर्सी टेबलसमेत राखेको छ। जबकी हिजो यस्तो गरिएको थिएन।रिसोर्टमा भीड हुनुको पहिलो र मुख्य कारण केपी ओली हुन् तर अरू पनि कारण छन्। यहाँ आएपछि ओली भेट्न नपाए पनि ओलीसँग निकट रहेका कुनै न कुनै नेता भेट्न पाइन्छ भनेर पनि हो।यही रिसोर्टमा ओलीको ‘कोर टीम’का नेताहरू बस्छन्।

महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ यही रिसोर्ट बस्छन्। पार्टी सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसमेत यही रिसोर्टमा छन्। त्यसैले ओलीलाई भेट्न नपाए पनि ओलीलाई कुरा पुर्‍याउन सकिन्छ कि भनेरसमेत यहाँ आउनेहरू छन्।केन्द्रीय सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत पनि यही रिसोर्टमा छन्। उनीसँगै युवा संघ अध्यक्ष किरण पौडेल, पूर्व अध्यक्ष राजिव पहारी वरिपरि भइरहन्छन्। ओलीसँग आफ्नो नाम पुग्छ कि भनेर युवाहरू आउने(जाने भइरहेको छ। कतिपय युवाहरू भने पार्टीमा केन्द्रीय निर्वाचन भइदिएको भए आफूले चुनाव जित्न नसक्ने तर अब भने के हो, के हो रहेको बताएका छन्।तल्लो फ्लोरमा बसेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेट्न आउनेको भीड पनि बिहानैदेखि छ। उनलाई भेट्न आउनेहरू भने अधिकांश आदिवासी जनजाति नेता छन्। अन्य शुभचिन्तकहरू पनि आएका छन्। नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी नछोड्नका लागि उनीहरूले दबाब दिएका छन्।

‘हामीले उहाँलाई आफ्नो दाबी नछोड्नुस् भनेका छौं। पार्टीको दोस्रो वरीयतामा पुग्ने अवसरबाट हाम्रो समुदायलाई वञ्चित नगरियोस् भन्ने हाम्रो भनाइ हो,’ नेम्वाङलाई भेटन आउने एक प्रतिनिधिले भने, ‘उहाँको हकमा समावेशी भन्ने जोड्नसमेत पर्दैन किनकी उहाँ राष्ट्रिय छवि भएको नेता हो। तर हाम्रो समुदायले गर्व गर्ने नेता पनि हो नि त।’नेम्वाङलाई दबाब दिने समूहले ओलीलाई समेत यो जानकारी गराएको ती प्रतिनिधिको दाबी छ। यद्यपी ओलीले यसबारे केही भनेका छैनन्।पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको लिष्ट तयार पार्दा ओलीले छलफल गर्न नछुटाउने प्रमुख व्यक्ति नेम्वाङ पनि हुन्। उनीसँगै निवर्तमान महासचिव ईश्वर पोखरेल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी छन्।नयाँ पदाधिकारी र केन्द्रीय सदस्य पार्क सफारी रिसोर्टबाट घोषणा हुने भएकाले यहाँ आएको केन्द्रीय सदस्यका एक आकांक्षीले सेतोपाटीलाई बताए।‘यहाँबाट घोषणा हुन्छ भन्नुको अर्थ औपचारिक कार्यक्रम गरेर भन्ने होइन। तर नाम त यहीँ तयार पारिन्छ नि,’ उनले भने ‘नेताहरूले लिष्ट तयार पार्दै गर्दा आफ्नो नाम पनि पुगोस् भनेर आउनु स्वभाविक हो।’

हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई दिएपछि आकांक्षीहरूको ध्यान यता सोझिएको हो।‘निर्वाचन भएको भए प्रतिनिधिको मन जित्नुपर्थ्यो तर अब नेताको मन जित्न पर्ने भयो। त्यसैले यहाँ आउनु स्वभाविक हो। त्यही भएर आएको छु,’ एक प्रतिनिधिले भने।बन्दसत्र भइरहेको होटल सेभेन स्टारमा भने सुनसानजस्तै छ। उक्त होटलमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसालसहित १० बुँदे सहमति गरेका स्थायी कमिटी सदस्यहरूलाई राखिएको छ। अहिलेसम्म रावल र भुसाल भने ओली बसेको पार्क सफारीमा पुगेका छैनन्।