विद्यार्थीको कथा – ‘चिसो न तातो , खुला आकाश फापो’

प्रकाशित मिति:

हुम्ला २६ मङ्सिर । मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने हुम्ला जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए । “चिसोका कारण विद्यार्थीलाई लेख्न र बस्न समस्या भएको छ,” उनले भने, “चिसो बढेपछि परीक्षा सञ्चालन गर्न मुस्किल भएको छ ।”

चिसो ह्वात्तै बढेपछि जिल्लाका सातवटै गाउँपालिकाका बासिन्दालाई सास्ती भएको छ । “बिहान–बेलुका ठिहिर्याउने चिसो छ,” चङ्खेली गाउँपालिका–५ का भैरव तामाङले भने। चिसो बढेपछि विद्यार्थी बिहान ११ बजेपछि मात्रै विद्यालय आउने गरेको डाँफे प्रस्तावित निम्न माध्यामिक विद्यालयका शिक्षक धनसिंह बुढाथोकीले भने। सर्केगार्ड गाउँपालिका–३ लालीगुराँस माध्यामिक विद्यालयका विद्यार्थी चिसोका कारण विद्यालय बाहिरको खुला चौरमा घाममा बसेर पढ्ने गरेका छन् । “चिसो बढेपछि कात्तिकदेखि नै कक्षा कोठामा पठनपाठन बन्द गरिएको छ,” प्रधानाध्यापक काली महताराले भने ।

वार्षिक परीक्षा दिंदै हुम्लाका विद्यार्थीहरु ।                                                                                     तस्बिर : गोरखापत्र

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–६ हल्जी जाङ, तिलगाउँका विद्यालयमा परीक्षा सकिएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारी चिसो छल्न जिल्ला बाहिर जान थालेका छन् । कतिपय कर्मचारी जाडो छल्न दाउराको जोहो गर्न थालेका छन् । अधिकांश उच्च पहाडी भेगका विद्यालयमा चिसोका कारण वार्षिक परीक्षा सकिएको छ ।