बारले न्यायाधीश कार्कीलाई भन्यो : कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिनुस्
१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् ।प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।छलफलपछि बारले गरेको विरोध सभामा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पनि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा सक्रिय हुन नचाहने हो भने वरिष्ठतम न्यायाधीशलाई पनि शंकाको दृष्टिले हेर्ने चेतावनी दिए ।संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश काम गर्न असमर्थ भएमा वा अदालतमा उपस्थित नभएमा वरिष्ठतम न्यायाधीश स्वतस् कार्यवाहक प्रधानन्यायाधीश बन्ने उल्लेख छ । तर सोमबार रातिदेखि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले भने आफू विरामी भएको बारे अदालतमा औपचारिक जानकारी नगराएकाले कार्यवाहक जिम्मेवारी कसैले लिएको छैन ।











