कांग्रेस महाधिवेशनः कर्णाली प्रदेशको सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा

प्रकाशित मिति:

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। देउवा र पौडेल समूहसँगै विमलेन्द्र निधिको समूहबाट पनि प्रदेश सभापतिका लागि उम्मेदवारी परेको छ।निधि समूहबाट कालीकोटका मोतीराज बमले उम्मेदवारी दिएका छन्।तल्लो तहका अधिवेशनमा दुइटा मात्र समूह देखिएको कर्णालीमा प्रदेशको महाधिवेशनमा अर्को समूह पनि थपिएको छ।बमको जिल्ला कालीकोटमा वडादेखि जिल्लासम्म सर्वसम्मत् नेतृत्व चयन भएको हो।

देउवा समूहबाट जुम्लाका ललितजंग शाही र पौडेल समूहबाट कालीकोटकै भूपेन्द्रजंग शाही सभापतिका लागि चुनावी मैदानमा छन्।निधि समूहबाट उम्मेदवारी दिएका बमको प्यानलमा भूगोलतर्फका सदस्यहरू पनि चुनावमा उत्रिएका छन्। प्रदेशका १० वटा जिल्लाबाट सदस्यमा उम्मेदवारी परेको हो।यस्तै, प्रदेश उपसभापतिमा कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीको उम्मेदवारी परेको छ।महामन्त्रीका लागि निरञ्जन केसी, कृष्णबहादुर रोकाय, कृष्णकुमार बिसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाको उम्मेदवारी परेको छ।

खुलातर्फ सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्यायको उम्मेदवारी परेको छ भने महिलातर्फको एक जना सहमहामन्त्रीका लागि रामछाया कुमारी शाही र देवीका कुमारी सिंहको उम्मेदवारी परेको छ।