वीरगन्ज । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाकी १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको पीडित किशोरी र उनका परिवारजनले आरोप लगाएका छन् ।पीडित किशोरीले मलाई बलत्कार भएको भन्दै इलाका प्रहरी कार्यालय पोखरीमा आफै जाहेरी लिएर गएका थिइन् । त्यसपछि उनीसँग सोधपुछ गरी स्वास्थ्य परीक्षण गराउन जाँदा पीडित किशोरी र उनका आमाबुबालाई धाकधम्की दिई पीडितलाई समेत गाउँमा बस्न दिँदैनौ, घर जलाई दिन्छौं जस्ता धम्की दिई स्वास्थ्य परीक्षण नगराउन युवक पक्षका केही व्यक्ति लगायत स्थानीय नेताहरुले दबाब दिएका छन् ।
गाउँकै केही आफूलाई नेता बताउने व्यक्तिले स्वास्थ्य परीक्षण नगराउन आर्थिक प्रलोभन देखाएका छन् । स्वास्थ्य परीक्षण नगराएमा मुद्दा अलि सजिलो बन्न सक्छ भन्ने सोचेर केही स्थानीय नेताहरुले विभिन्न किसिमका दबाब सृजना गरेका छन् ।स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल वीरगंज पुगेकी किशोरी विभिन्न किसिमका दबाबका कारण डरले स्वास्थ्य परीक्षण नगराउने बताउन थालेकी छन् ।किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरीले लगाएकी हुन् ।पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे पटेर्वासुगौली गाउँपालिका वडा नं ५ को श्री नेरा मावि निचुटामा पढ्न जाने क्रममा किशारीलाई बाटोबाटैमा रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए । शुरूमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्।
उनले भनिन्, ‘शुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे। त्यसपछि १७ दिनसम्म राति डेराबाट निकालेर बाहिर लैजान्थे। कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन। बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबरजस्ती करणी गर्थे।मंसिर १३ गते रातिको ३ बजे उठेर ती किशोरी वीरगन्जबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन्। पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिँदा प्रहरीले जाहेरी लिइ अनुसन्धान दर्ता प्रक्रिया अगाडि बढाईएको पीडित किशोरीका बुबाले बताए। मङ्गलबार प्रहरीले जाहेरीको आधारमा पहिला स्वास्थ्य परीक्षण गराउन भनेको उनले बताए।
यसबीचमा पीडकका आफन्तले घटना मिलापत्र गर्न पटकपटक आर्थिक प्रलोभन दिँदा नमानेपछि धम्की पनि दिएको पीडित किशोरीका बुबाले बताए। यस्तै, प्रहरीलाई घटनाबारे जानकारी गराएको एक हप्तापछि मात्र आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरिएको छ। दुबै युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मंसिर १३ गते किशोरी सहितका अभिभावक अपहरणको मात्रै उजुरी लिएर आएकाले त्यस बेला अपहरण सम्बन्धी अनुसन्धान गर्नु पर्ने भएकाले दुबै युवकलाई तारिखमा राखेर घर पठाइएको हो।मङ्गलबार भने बलात्कार नै भएको भनेर जाहेरी लिएर आएकाले जाहेरी दर्ता गरेर स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल पठाउँदा किशोरी स्वास्थ्य परीक्षण नगराउन भनेकी थिइन् । त्यसपछि थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको थापाले बताए।











