मुख्यमन्त्री पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

प्रकाशित मिति:

काठमाडौं, २३ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनी १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन् । युवापुस्तालाई पार्टीको नेतृत्वमा पु¥याउनका लागि सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ थियो । मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याउनु परे पनि नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गरे । उनले भने, ‘६ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौं ।’महिलाका लागि स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार, प्रदेशलाई सडक मानवमुक्त घोषणा, कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ प्रदान लगायतका लोकप्रिय काम पोखरेल नेतृत्वको सरकारले यो अवधिमा गरेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई ५० हजार रुपैयाँ, साना व्यवसायीका लागि व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइएको उनले बताए । प्रदेशलाई पूर्ण साक्ष घोषणा, शिक्षा र स्वास्थ्य नीति घोषणा पनि यही अवधिमा गरिएको छ । अब प्रदेशमा १८ वर्षभन्दा माथिको उमेरका सबैजसोले कोरानाविरुद्धको खोप लगाइसकेको भन्दै अब नयाँ भेरियन्टबाट बच्नका लागि समेत सतर्कता अपनाइएको उनको दाबी छ । कोरोनाको उपचार र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले थप जनशक्ति नियुक्तिका लागि प्रक्रिया थालेको जानकारी उनले गराए ।
गण्डकीको पर्यटन प्रबद्र्धनका लागि समेत प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतलाई गण्डकीमा स्वागत, ११ देशका राजदूतलाई पोखरा बोलाएर आतिथ्यता प्रदान गरेपछि पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको पनि उनले बताए ।

अनुभवले खारिएका कृष्णचन्द्र- काठमाडौं । नागरिक स्वतन्त्रताका लागि जीवन समर्पित गरेका व्यक्तिहरुमा त्यागको भावना असामान्य हुने गर्दछ । व्यक्तिगत स्वार्थबाट माथि उठेर मातृभूमि र जनताका मुक्तिका लागि संघर्ष गर्ने निर्णय गर्नु चानेचुने विषय होइन । त्यो पनि राणाकालको कठोर र बर्बर शासन व्यवस्थामा जीवनलाई हत्केलामा राखेर लडेका व्यक्तिको त्यागले आजको स्वतन्त्रता प्राप्त भएको हो । नागरिक स्वतन्त्रताका लागि लड्ने पुस्ताले स्वतन्त्रतासँग जीवन साटेका थिए ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल राणाशासनका विरुद्ध मातृभूमिको मुक्ति र नागरिक स्वतन्त्रताका लागि संघर्ष गरेका गोवर्धन शर्मा पोखरेलका माइला सुपुत्र हुनुहुन्छ ।
उहाँको पूरै परिवार राजनीतिमा समर्पित थियो । सशस्त्र संघर्षबाट देशलाई राणाहरुको चंगुलबाट मुक्त गराउन, प्रजातन्त्रको जग बलियो बनाउन, पञ्चायती निरंकुशताको अन्त्य गर्न गोवर्धन पोख्रेल निरन्तर लाग्नु भयो । नेपाली कांग्रेसको सिद्धान्तबाट दिक्षित उहाँ देशकै कर्मशील, जुझारु र सशक्त नेता हुनुहुन्थ्यो ।

त्यस्ता पिताका सुपुत्र कृष्णचन्द्र नेपालीको जीवन पनि लोकतान्त्रिक आन्दोलनको अविरल, संघर्षपूर्ण र गौरवशाली यात्राको रुपमा स्थापित भएको छ । जनताको दुखलाई नै आफ्नो दुख र प्रजातन्त्रलाई जीवनशैली ठान्ने कृष्णचन्द्र नेपालीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान अतुलनीय छ ।२००५ जेठ ५ मा तनहुँको राम्चेमा जन्मनु भएका पोखरेल बाल्यकालदेखि राजनीतिबाट दिक्षित हुनुभयो । राजनीति उहाँ र उहाँको परिवारको अभिन्न अंग बन्यो । पूरै परिवार प्रजातन्त्रको आन्दोलनमा होमियो । पिता देश निकाला भएका समयमा भारतमा निर्वासित भै बिएसम्मको शिक्षा भारतबाट हासिल गर्नुभयो । काभ्रे र तनहुँका विभिन्न विद्यालयमा शिक्षण गर्दा उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भमिका निर्वाह गर्नुभयो । पञ्चायतको निरन्तरको दमन भौतिक कारवाही सहदै जस्तोसुकै दुर्गममा सरुवा गर्दा होस् वा जस्तोसुकै कारवाही गर्दा होस उहाँले कुनै सम्झौता गर्नुभएन ।

बुवा गोवद्र्धन शर्माको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो । आमाबाट कृष्णचन्द्र नेपालीले मातृवात्सल्य मात्र पाएनन् राजनीतिक संस्कार समेत सिके । श्रीमती लता पोखरेलको पनि उहाँको सफलता र यहाँ सम्मको राजनीतिक उचाइ प्राप्तिमा महत्वपूर्ण भूमिका रहेको छ । उहाँका २ छोरा दुई छोरी गरी ४ चार सन्तान छन् ।उहाँको जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुनु हुन्छ । जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइक्नुभएका रामचन्द्रले नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा लामै समय मुख्य सचिवको जिम्मेवारी पनि पाउनुभयो । साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने कान्छा भाइ सुवासचन्द्र अमेरिका बस्नुहुन्छ । २ बहिनी सत्यम्वदा र प्रियम्वदा हुनुहुन्छ ।प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै भएको थियो । त्यसपछि उहाँ माध्यमिक शिक्षाका लागि भारत पुग्नुभयो । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र नेपाली दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किनु भयो । उहाँको पढ्ने रहर त्यतिमै सीमित रहेन कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नुभयो ।

२०३९ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउनका लागि नवलपरासी बसाइँ सर्नुभयो । हाल उहाँको स्थायी बसोवास गैंडाकोट नगरपालिका १ मा छ ।प्रजातन्त्रका लागि संघर्ष गरेका व्यत्तिहरुलाई पञ्चायत सरकारले झुठा अभियोगमा फसाउन थालेपछि शिक्षण पेशा छाडेर उहाँ जनपक्षीय वकिलकारुपमा काम गर्न थाल्नुभयो ।संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव २०७४ मा उहाँ प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट उठ्नुभएको हो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल हुनुभयो ।गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै काँग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो । प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिनुभयो कृष्णचन्द्र नेपाली पोखरेल ।प्रदेश सभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उहाँ हरसमय क्रियाशील रहनुभयो ।

प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवद्र्धन शर्मा पोखरेल निर्वासित जीवन बिताउनु भएको थियो । त्यति नै बेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उहाँले पनि पिताकै साथमा भारतमा निर्वासित जीवन बिताउनु भएको थियो ।राजनीतिमा मात्र होइन कृष्णचन्द्र नेपाली पोखरेल लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहनु भयो । काभ्रे र तनहुँका स्कुलमा उहाँले लामै समय पढाउनु भयो । २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय हुनुहुन्थ्यो । जनमत संंग्रहमा काँग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उहाँलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो । त्यसपछि उहाँ शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न रहनु भयो ।प्रजातान्त्रिक आन्दोलनकै क्रममा उहाँ ६ पटक जेल पर्नु भएको छ ।२०४८ को अधिवेशनपछि उहाँ निरन्तर ४ कार्यकाल काँग्रेस नवलपरासीको सभापति रहनु भयो । २०४८ सालको आमनिर्वाचनमा उहाँ नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो । २०६२÷ ६३ सालको जनआन्दोलनमा उहाँले नवलपुरको कमान्ड सम्हाल्नुभयो । त्यो बेला पनि पनि उहाँ जेल पर्नु भयो ।१२ औँ महाधिवेशनबाट उहाँ नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पोखरेल परिवर्तित राजनीतिक परिवेशसँग २०७८ जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।