२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । महाधिवेशनको उदघाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिए ।ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासका अनुसार अघिल्ला दिनहरुको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरुको संख्या बढेको छ । त्यसैले चक्रपथ तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाका, प्रतिनिधिहरु बसेको क्षेत्र, भीभीआईपी र भीआईपी रुटहरुमा पनि निगरानी बढाइएको छ । त्यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी क्यामराबाट पनि निगरानी गरिएको प्रहरीले जनाएको छ ।‘प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको छ, पैदल र मोबाइल गस्तीलाई पनि नियमित गरिएको छ,’ एकजना प्रहरी अधिकृतले भने ।
यस्तो छ ट्राफिक प्रहरीको तयारी
उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्राफिक प्रहरी मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिए ।
कार्यक्रमस्थलमा ट्राफिक जाम नहोस् भनेर पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट डाइभर्सन गरिएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलंकी, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । मानिसहरुको उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुट डाइभर्सन हुनसक्ने भट्टराईले बताए ।
महाधिवेशन प्रतिनिधिका खुलामञ्चमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका गाडी भृकुटीमण्डपको सभाहल पछाडि तथा अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा पार्किङको व्यवस्था मिलाइएको छ ।











