गोकर्णराज बन्जाडे/करिब पाँच महिनाअघि न्युजिल्यान्डमा जोई केयर नाम गरेकी एउटी सात वर्षीया बालिकाको सुझावलाई उपयुक्त सम्झेर त्यहाँको सरकारले सडकमा इलेक्ट्रिकसम्बन्धी काम गर्ने कर्मचारीको पद, नाम लाइन म्यानबाट लाइनक्रु बनायो। अमेरिकाको सोह्रौं राष्ट्रपतिको रूपमा उम्मेदवार रहँदै गर्दा अब्राहम लिंकनले सन् १८६० मा ग्रेस वेल्डर नाम गरेकी एउटी सानी केटी (बालिका) ले उनको ख्याउटे देखिने दुब्लो र पातलो अनुहारमा दाह्री पाल्न दिएको सुझावलाई ग्रहण गरी आफ्नो व्यक्तित्वमा परिवर्तन ल्याएर राष्ट्रपति चुनावमा सफलतासमेत प्राप्त गरेको उनी आफैं बताएका छन्। पृथ्वीनारायण शाह नेपाल एकीकरण अभियानमा लाग्दै गर्दा परिरहेको आर्थिक अभाव टार्न बिसे नगर्ची, जो अति सामान्य मानिस थिए, उनैको सल्लाह शिरोधार्य गरी रकमको जोहो गरी आफ्नो अभियानलाई सम्भव बनाए। कतिपय अवस्थामा जसले यसरी साधारण भनिएकाबाट निःशुल्क प्राप्त हुने राय–सुझावको समेत गाम्भीर्य बुझी अगाडि बढ्छ, उसले सफलता हासिल गर्न सक्छ।
देशको पाको लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस आज चुनौतीको चौघेरामा खडा छ। कुनै समय राजनीतिक अभिभावकीय भूमिकामा रहेको यो शक्ति आफैं भान्छाबाट बलेनी बाहिर पुगेजस्तो देखिन्छ। यो अवस्था कसरी आयो त ? हालसम्मको यात्राको सिंहावलोकन तथा कामको समीक्षा गर्नु, यसबाट पार पाउने उपायको खोजी गर्नु र कसैको राय–सुझाव लिनु त परै जाओस्, आफ्नो धरातलीय अवस्था के छ भन्ने बोधसमेत यसका नेतामा नभएजस्तो प्रतीत हुन्छ। बिहानदेखि बेलुकासम्म एक किसिमका मानिसद्वारा घेरिएको कांग्रेसको नेतृत्वलाई अब कम्युनिस्टको अकर्मण्यताबाट आफ्नो पालो स्वतः फर्किने कुरामा विश्वास छ।
‘कांग्रेसलाई पुरानै अवस्थामा नपुर्याई वि श्राम नलिने’ दस वर्षमा संसारबाटै कम्युनिस्ट हराउने’ जस्ता नेतृत्वका हावादारी उद्गारलाई सामाजिक सञ्जालमा सेयर गर्दैमा केही कार्यकर्ता मख्ख छन्। तर के हो पुरानै अवस्था भनेको ? कहाँ पुर्याउने भनेको हो ? वर्तमान नेतृत्वबाट कांग्रेसलाई कता पुर्याइएला त ? २०७० सालअगाडिको अवस्थामा त अहिले नै छ। २०५९ साल जेठको अवस्था वा २०५१ सालको अवस्था या २०१७ साल पुसको अवस्थामा पुर्याउन खोजेको हो कि ! यसलाई कसरी बुझ्ने हो, कुरा त्यति प्रस्ट छैन। कम्युनिस्टको पतन भयो भने पनि भाग्यले कांग्रेसलाई किस्तीमै राखेर सत्ता सुम्पेला त ?
मुलुकको माग अब कांग्रेसलाई पुरानो होइन नयाँ अवस्थामा लैजाने हो। जुन वर्तमान नेतृत्वको कार्यशैली र क्षमताले सम्भव देखिँदैन। अब पार्टीलाई युगसापेक्ष, प्रविधिमैत्री र समसामयिक बनाउन त्यस्तै किसिमको कार्ययोजनासहितको नेतृत्व आवश्यक छ। यसका निम्ति दृढ अठोट र निष्ठा बोकेको क्षमतावान् युवा नेतृत्व हिम्मतका साथ अगाडि बढ्नुपर्छ। अहिले कांग्रेसका युवा ऊर्जावान् नै छन्। समकालीन नेपालको राजनीतिमा सक्रिय युवामध्ये कांग्रेससम्बद्व युवा नै बढी आशलाग्दा मानिन्छन्, तर तिनमा एउटै समस्या छ। कहिले पुरानो पुस्ताले वि श्राम लेला र पालो आउला भन्ने अपेक्षा। यो सम्भावनाभन्दा बाहिरको कुरा हो। केही युवा त तिनैको स्तुतिगान र चाकडी गर्दै आफ्नो र आगामी पुस्ताको भविष्य अँध्यारो बनाइरहेका छन्। संसारमा आफू जीवितै छँदा नयाँ पुस्तालाई सहजै नेतृत्वमा स्थापित गरेको उदाहरण पाउन मुस्किल छ। अझ हाम्रोजस्तो अल्पविकसित राजनीतिक संस्कार भएको सत्तासुख नै सर्वसुख सम्झने समाजमा त असम्भव नै छ। युवा नेतृत्वमा आउने हो भने पुरानो पूस्तामाथि सामान्य हस्तक्षेपले वि श्राम नलिए निर्ममतापूर्वक अवकाश दिनुपर्छ।
कांग्रेसको वर्तमान नेतृत्व आफ्नो निहित स्वार्थसमूहको घेराबाहेक कसैको कुरा सुन्न चाहँदैन। उसले पार्टीभित्रका विमति र उचित सुझावलाई समेत गुटबन्दीको संज्ञा दिई पन्छाएर अँध्यारोतर्फको यात्रालाई निरन्तरता दिन चाहेको प्रतीत हुन्छ। स्वेच्छाचारिताको निर्बाध अभ्यासलाई नै पार्टी अनुशासन ठान्छ। आज उसमा अरूको कुरा सुन्ने र ग्रहण गर्ने क्षमता शून्य छ। हालै कांग्रेस आफ्ना आगामी राजनीतिक र आर्थिक नीति तय गर्न प्रदेशस्तरमा पुगेर केही अगुवा कार्यकर्ता र विज्ञको राय लियो।
यसैगरी केही समयअघि विधान संशोधनका सम्बन्धमा राय–सुझावमा पनि व्यस्त रह्यो। उक्त सुझाव संकलनमा सँगै गएका प्रतिनिधिले एउटै भेलाबाट फरक—फरक सुझाव लिएर फर्किए र काठमाडौंमा आपसी विवादमा उत्रिए। जिल्लास्तरका अगुवा कार्यकर्तालाई जम्मा गरेर राय–सुझाव दिन मात्र लगाइयो। कति सुनियो र कति ग्रहण गरियो त ? उनीहरू राय, सुझाव र सल्लाह केवल देखावटीमा मात्र लिन्छन्। वास्तवमा उनीहरू आफूलाई सर्वज्ञानी नै सम्झिन्छन् र आफ्ना नितान्त गुटगत अभीष्टबाट प्रेरित छन्। राय–सुझाव लिनुभन्दा पहिले नै गुटीय प्रतिवेदन तयार गरिसकेका हुन्छन्। यही वास्तविकताबीच पार्टीको आगामी राजनीतिक र आर्थिक नीति केन्द्रीय समितिबाट पारित गरिसकिएको छ र विधानको समेत लगभग टुंगो लागिसकेको छ। यस सम्बन्धमा संकलन गरिएको राय एकातिर थन्काएर काठमाडौंमा बस्नेहरूको सहमतिमा सबै मिल्छ। महासमितिले आफ्नो कर्मकाण्ड पूरा गर्छ। जसोजसो आफ्नो गुटका नेता भन्छन्, उसोउसो स्वाहा भनेर सहभागी जिल्ला फर्कने हुन्। आफूले नियुक्त गरेका वैतनिक वा अवैतनिक सल्लाहकारले दिने कर्णप्रिय लाग्ने सल्लाह मात्र होइन, अन्यत्रबाट प्राप्त हुने औपचारिक वा अनौपचारिक प्रतिक्रिया, राय र सुझावसमेत ग्रहण गर्ने क्षमता पनि राजनेतामा चाहिन्छ।
कसैले कुनै सामान्य घटना वा अनुभवबाट पनि पाठ सिकी आफूमा परिवर्तन ल्याएर महान् सफलतासमेत प्राप्त गर्न सक्छन्। बीपी कोइरालाले भनेका छन्, ‘कुनै द्विविधा भयो भने एक मुठी माटो हातमा लिनु, सहिद र फाटेको लुगा लगाएको झुपडीमा बस्ने गरिबलाई सम्झनु अनि आत्माले जे भन्छ त्यही गर्नु।’ आज नेपाली कांग्रेसले सहिद र बीपी गणेशमान सुवर्णलाई औपचारिक कार्यक्रममा बाहेक सम्झनसमेत छाडेको छ। गाउँमा बसेर खेती गर्ने किसान, कारखानामा काम गर्ने मजदुर, स्कुल–कलेजमा पढ्ने विद्यार्थी, विदेशमा श्रम पसिना बगाइरहेका युवादेखि धेरै टाढा पुगेको छ कांग्रेस। सहरमा बस्ने सम्पन्न मानिस किसान नेता छन्। मजदुर युनियनका नेता कारखानामा होइन, विदेश यात्रा र सहरमा तारे होटलमा हुने सेमिनारमा मग्न रहन्छन्। मालिक प्रवृत्तिबाट मजदुरको नेतृत्व कसरी हुन सक्छ ? स्कुल–कलेजका सञ्चालक, तिनीहरूसँग आर्थिक लेनदेनमा लिप्त भएका र कुनै नियमित औपचारिक पढाइ छाडिसकेकाबाट कसरी हुन्छ विद्यार्थी समुदायको प्रतिनिधित्व ?
राजा धनानन्दमाथिको प्रत्यक्ष आक्रमण असफल भएपछि चाणक्य र चन्द्रगुप्त जंगलमा लुकेर बसेका थिए। त्यत्तिकैमा उनीहरूले रोटीको किनारको भाग फ्याँकेर बीचको भाग खाँदै गरेको आफ्नो बच्चालाई सम्झाइरहेकी एक आमाको कुरा सुने। उनी भन्दै थिइन्, ‘तिमी त चाणक्य र चन्द्रगुप्तले जस्तो हर्कत गर्दैछौं, जसले आसपासको गाउँ नजिती प्रत्यक्ष राजधानीमा आक्रमण गरे, जसकारण उनीहरू हारे।’ यसबाट उनीहरूले शिक्षा लिई नयाँ रणनीतिका साथ आक्रमण गरे र सफल भए। कांग्रेसको वर्तमान नेतृत्व सामाजिक र आर्थिक रूपले किनारामा रहेका मानिसको मन नजिती एकैपटक केन्द्रीय सत्ता जित्न चाहन्छ र साना भनिएका मानिस र घटनाबाट केही सिक्न चाहँदैन।
बीपीको पुस्ताले कांग्रेसलाई भौतिक रूपमा मात्र होइन, वैचारिक रूपमा समेत विशाल बनाइदिएका हुन्। त्यसपछिको पुस्ताले कांग्रेसको संगठनको रूपमा रहेको भौतिक सम्पत्तिलाई भरपूर प्रयोग गर्यो तर विचार र मार्गदर्शक सिद्धान्तलाई वास्ता गरेन। संगठनलाई त उपयोग मात्र होइन, उपभोग नै गर्यो। यसबाट कांग्रेसका केही सय नेतालाई सम्भ्रान्त वर्गमा रूपान्तरण गर्नेबाहेक केही गर्न सकेन। हिजो कारखानामा काम गर्ने गरिब मजदुर, गाउँमा हलो जोत्ने किसान, स्कुल–कलेजमा पढ्ने विद्यार्थीले हुर्काएको पार्टी आज कांग्रेसलाई सधैं शत्रु सम्झिने सामन्त पुँजीपति, अवसरवादी र दरबारीका सन्ततिको अरनखटनमा चल्ने अवस्थामा पुगेको छ। यो समुदाय कांग्रेसको सबल स्वरूप देख्न चाहन्छ वा दुर्बल समयमै पहिचान हुनुपर्छ।
राजनीति समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने विधा हो। राजनीतिले मानव हितका नयाँ मार्ग जनतालाई देखाउनुपर्छ। यसले पुरानो बाटोतर्फको यात्रालाई रोज्दैन, बरु परिवर्तनलाई आत्मसात गर्दै यथास्थितिबाट अग्रगमनतर्फको यात्रा सुचारु गर्छ। आज कांग्रेसले समाजको तल्लो तहमा रहेका बहिष्कृत, विपन्न, निमुखा र दलित समुदायलाई नीतिनिर्माण तथा निर्णय प्रक्रियामा समेट्नु त परै जाओस्, तिनको अनुहार देख्न र कुरा सुन्नसमेत छाडिसकेको छ। यस समुदायलाई अविकासको अँध्यारोबाट कसरी निकाल्ने हो, त्यो सोच आफैं सामन्ती तथा स्वेच्छाचारिताको सुरुङ बनिरहेको वर्तमान नेतृत्वबाट आशा गर्नु भनेको समय र जवानीको बर्बादी मात्रै हो।
कांग्रेसले इतिहासमा पटक–पटक अवसर प्राप्त गरेको हो। त्यस अवसरलाई सही रूपमा उपयोग गर्न नसकेका कारण घट्दै गएको साख अन्य कुनै पक्ष वा परिस्थितिलाई दोषी देखाएर जोगिँदैन। यसका लागि त कठोर मेहनत र आफैंमा पूर्ण रूपान्तरण जरुरी छ। कांग्रेसको वर्तमान नेतृत्व इतिहासले पटक–पटक परीक्षण गरिसकेको र चिनिसकेको हो। मुलुकले खोजेको नेतृत्व अब यस पुस्ताबाट सम्भव छैन। पूरै पुस्तान्तरणसहितको रूपान्तरणको मागलाई सम्बोधन हुनुपर्छ। अब कांग्रेसलाई साँच्चै नयाँ र भरिलो अवस्थामा पुर्याउने हो भने किञ्चित ढिलो नगरी गुरु र गगन पुस्ता नेतृत्वमा आउनुपर्छ। यो भन्ने साहस नगर्ने हो र अझै यिनको समय भइसकेको छैन भनिरहने हो भने यिनको पालो आउँदा यिनमा रहेको ऊर्जा सकिइसकेको हुनेछ। पुरानो पुस्ताले जेजति योगदान गर्यो, त्यसलाई निरन्तरता दिने हो भने यहाँ पनि उपयोगिताको ह्रास नियम आकर्षित हुन्छ।
राजा महेन्द्रले ल्याएको निर्दलीय पञ्चायती व्यवस्थाका तीसबर्से यात्राका सारथिहरू तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, केशरजंग रायमाझी आदिले आफ्नो समयमा पञ्चायतलाई टिकाउन योगदान गरेका हुन्। तर २०५९ पछि तिनै पुराना पात्रको प्रयोगले सफल भइने विश्वास ज्ञानेन्द्रमा हुनु र समयले तिनीहरूको सान्दर्भिकता समाप्त भएको नबुझ्नु, पुरानै महेन्द्रीय शैली अनुसरण गर्नु उनको पतनका प्रमुख कारण बने।
कुनै समय उपयुक्त र सफल पात्र, प्रवृत्ति, पद्धति आदि काल परिवर्तनसँगै ती त्यत्तिकै असान्दर्भिक हुन सक्छन्। यस कुरालाई सुदृढ कांग्रेस देख्न चाहनेले समयमै नबुझ्ने हो भने कांग्रेस प्रजापरिषद्को मार्गमा नजाला भन्ने छैन। आज वर्तमान सरकारको अकर्मण्यताको फाइदा स्वतः कांग्रेसको पोल्टामा आउने जुन भ्रम कांग्रेसीमा व्याप्त छ, त्यसबाट बाहिर निस्कनु जरुरी छ। यस परिस्थितिको उपयोग गर्न विभिन्न पुनरुत्थानवादी र मुलुकका लागि कुनै योगदान नभएका अवसरवादीको सक्रिय सल्बलाहटले कांग्रेससँगै लोकतान्त्रिक गणतन्त्रको अस्तित्वसमेत संकटोन्मुख देखिन्छ।
आज यसैको आडमा मुलुकलाई शताब्दीऔं सम्म हातमा लिई कंगाल बनाउने राजतन्त्र त्यसमा पनि वैश्य प्रवृत्तिको व्यक्तित्वलाई पुनर्स्थापना गर्नेदेखि वैकल्पिक राजनीतिका नाममा न्यूनतम लोकतान्त्रिक मूल्यमान्यता नबोकेका र २०४६ र ०६२र६३ पछिको उपलब्धिलाई सराप्ने अवसरवादीको सक्रियता बढ्दो छ। कांग्रेसको यो गतिले पछिल्लो समयमा राजनीतिक क्षेत्रमा देखिएका विकृतिबाट उत्पन्न भएको नकारात्मक भावलाई उचालेर लामो इतिहास र योगदान भएका राजनीतिक शक्तिलाई आरोपित गर्दै आफ्नो शक्तिलाई विस्तार गर्न लागिपरेका कुनै स्पष्ट राजनीतिक आदर्श र पृष्ठभूमि नभएका र निरंकुशतावादी समूहलाई फाइदा पुग्ने हो।
दुईतिहाइको मतादेशले मत्त वर्तमान सत्ताबाट जनविश्वासमाथि धोखाधडी भएको अवस्था छ। अहिले देशमा जनताको पक्षबाट उठाइनुपर्ने थुप्रै मुद्दा, काममा ढिलासुस्ती, बढ्दो महँगी, सार्वजनिक असुरक्षा, स्वेच्छाचारी, संस्थागत रूपमै मौलाउँदै गरेको भ्रष्टाचारजस्ता विषयको व्यवस्थित र प्रभावकारी उठानका लागि उच्च मनोबलसहितको प्रतिपक्षको आवश्यकता जनजनले महसुस गरिरहेको छ। यसमा प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसको भूमिका सशक्त र प्रभावशाली हुनुपर्ने हो। कांग्रेसको वर्तमान नेतृत्वसँग यी र यस्ता असरल्ल छरिएका विषय उठाउन सक्ने क्षमता देखिएको छैन।
२०५१ सालको मध्यावधि चुनावयता जसरी पनि सत्ता प्राप्त गर्ने र सत्तामा रहिरहन अनेक वाञ्छित–अवाञ्छित गतिविधि गर्न पछि नहट्ने शक्तिको उदय भयो, त्यसले नेपालको राजनीतिमा अनेकन विकृति बढायो। मुलुकमा भ्रष्टाचारको संस्थागत विकास, सुरासुन्दरी काण्ड, सांसदको खरिदबिक्री यही बेला भयो। त्यसको मूल्य हामी नेपाली जनताले आजपर्यन्त चुकाइरहनुपरेको छ। त्यही शक्तिले आज कांग्रेसलाई कब्जा गरिबसेको छ। रोस्ट्रममा उभिएर दस मिनेट जनसरोकारका समसामयिक विषयमा गहकिलो प्रस्तुतीकरणको क्षमता नभएका तथा एउटा नागरिकले सार्वजनिक रूपमा सोधेको सवाललाई समुचित सम्बोधन गर्न नसक्नेबाट नेतृत्व भएको कांग्रेस कहाँ पुग्ला ? धेरै त देखिसकियो। बाँकी हेर्न पनि अब समय पर्खन पर्दैन।
नेतृत्वको असाध्यै वरिपरि रही लाभ लिइरहेका र कांग्रेसका अन्धसमर्थकलाई यी कुरा अप्रिय लाग्न पनि सक्छ कि कांग्रेसले डिल्लीरमण रेग्मी, मातृकाप्रसाद कोइरालाहरूलाई समयमै नेतृत्वबाट विस्थापित नगरेको भए आज कांग्रेस इतिहासको गर्वमा विलीन भइसकेको हुन्थ्यो। यसैगरी नेपालको कम्युनिस्ट आन्दोलन पनि केशरजङ रायमाझी र यस्तै प्रवृत्तिका मानिसलाई सँगै लिएर हिँडेको भए दरबारभित्रै हराएको हुन्थ्यो। काम नलाग्ने भएपछि र बाँकी शरीरमा समेत संक्रमण बढ्ने देखिए आफ्नो शरीरको कुनै पनि अंग काटेर फ्याँक्नुपर्छ। यसमा जति ढिलो गर्यो त्यति पीडा थपिँदै जाने हो। आफ्नो योगदानको कैयौं गुणा धेरै लाभ लिएको र पटक–पटकको परीक्षणबाट असफल र अक्षम ठहरिएको यो नेतृत्व समयमै विस्थापन नभएसम्म कांग्रेसको अधोगति रोकिने देखिँदैन।
यसर्थ कांग्रेसलाई नयाँ र सही मार्गमा लैजाने हो भने पुरानो सोच पुरानो नेतृत्व विस्थापित गरेर परिवर्तनलाई आत्मसात गर्न सक्ने नेतृत्व अगाडि आउनैपर्छ। मानिसहरू सधैं विकल्प खोजिरहेका हुन्छन्। त्यो विकल्पले जनाकांक्षालाई सम्बोधन गरेन भने फेरि नयाँ विकल्पतिर जान्छन्। कांग्रेसको पटक–पटकको आरोह–अवरोह पनि त्यही खोजीको परिणाम हो। पटक–पटकको गल्तीलाई जनताले माफी गर्नुको कारण लोकतान्त्रिक मूल्यमान्यता बोकी यसको संरक्षण गर्न सक्ने अर्को भरपर्दो शक्तिको उदय नहुनु पनि हो।
कांग्रेसको विकल्पमा व्यक्तिको स्वतन्त्रता जोगाउन सक्ने, जोगाउनुपर्दा संघर्षमा उत्रिने वा प्रतिकूलतामा समेत आफूलाई पूर्ण लोकतन्त्रको पक्षमा उभ्याउन सक्ने अर्को लोकतान्त्रिक शक्ति नेपालमा हाल देखिएको छैन। आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्नेहरूसमेत यसमा खरो उत्रिन सकिरहेका छैनन्। यसर्थ वर्तमान सत्ताको भरपर्दो विकल्पको रूपमा कांग्रेस उत्रिन नसके व्यवस्था नै खतरामा पर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। लोकतान्त्रिक गणतन्त्रलाई समुन्नत राष्ट्र निर्माणको माध्यम बनाउन कांग्रेसलाई नै तंग्य्राउन जरुरी छ।
कांग्रेसले पनि वर्तमानमा समकालीन सामाजिक परिवेशसँग आफूलाई एकाकार गर्न सकिरहेको छैन। यसले सीमान्तकृत दलित, निमुखा र विपन्न वर्गबाट टुट्दै गएको सम्बन्धलाई पुनस्र्थापित गर्नुपर्छ। यसका लागि आफ्ना तल्लो तहका समर्थक, मतदाता, जनता र विद्वत् समाजसम्म पुगी उनीहरूको कुरा सुन्नुपर्छ र साँच्चिकै खुला रूपमा छलफल गर्नुपर्छ। लोकतन्त्रलाई आफ्नो जीवन पद्वति बनाएका कुनै पनि नागरिकले कांग्रेसको यो अवरोह देख्न चाहेका छैनन्। कांग्रेसको उत्थानका लागिभन्दा पतनका लागि जिम्मेवार रहेको वर्तमान नेतृत्वको विस्थापनबिना कांग्रेसप्रतिको आकर्षण बढ्ने सम्भावना न्यून छ।












