बुटवल , ३ पौष । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशले ११ बुँदे घोषणा पत्र जारी गरेको छ । महासंघ लुम्बिनीको ९ जिल्लाका सामुदायिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको रुपन्देहीमा २ दिन सञ्चालन भएको गोष्ठीले ११ बुँदे घोषणा पत्र जारी गरेको हो । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर तथा भौतिक सुधारको पक्षमा छलफल गर्दै घोषणा पत्र जारी गरिएको सामुदायिक विद्यालय ब्यवस्थान समिति महासंघ लुम्बिनीका अध्यक्ष अध्यक्ष सरद भट्टराईले जानकारी दिए ।
शनिबार जारी गरिएको घोषणा पत्रमा प्रदेशमा रहेका सम्पूर्ण विद्यालयहरुका विद्यालय ब्यवस्थापन सदस्यहरुलाई महासंघमा आबद्धता गराउने, विद्यालय ब्यवस्थापन समितिलाई बिसुद्ध अभिभावकहरुको प्रतिनिधि संस्था निर्माण गर्ने , विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गराउन क्रियाशिल हुने , सरकारले सामुदायिक विद्यालयलाई न्यूनतम २० प्रतिशत बजेट तर्जुमा गर्नको लागि संस्थागत दबाब सिर्जना गर्ने ,विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान को लागि दबाब मुलक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यस्तै प्रदेश भित्रका सामुदायिक विद्यालय ब्यवस्थापन समितिहरुको संस्थागत पहिचानका लागि विद्यालय ब्यवस्थापन समितिको कार्यक्षेत्र ,सचिबालय स्थापना गर्ने ,सामुदायिक श्रोतबाट नियुक्त शिक्षक तथा कर्मचारीहरुको बृत्ति विकास तथा क्षमता विकास गर्ने , विद्यालयलाई अपाङ्ग मैत्री , बालमैत्री ,र स्वच्छ वातावरण मैत्री संरचना निर्माणमा पहल गर्ने, पूर्णरुपमा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापीत गर्न पहल गर्ने ,विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुका क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि स्थानीय सरकारसँग समन्वयन गरि कार्यान्वयन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । महासंघ सैनामैनाका फोकल पर्सन रामप्रसाद अधिकारीले २ दिनसम्म चलेको गोष्ठीमा ४० जना प्रतिनिधिहरुको उपस्थिती रहेको जानकारी दिए ।
गोष्ठीमा सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै विद्यालय ब्यवस्थापन समितिका पादाधिकारी सदस्यहरुको हक अधिकार लगायतका विषयमा छलफल भएको थियो । गोष्ठीको शुक्रबार लुम्बिनी प्रदेशका उर्जा तथा सिचाई मन्त्री बिर बहादुर रानाले उदघाटन गरेका थिए ।










