काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।
त्यसअघि बैठक सुरुहुनेबितिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।एमाले सांसदहरुले बैठकमा बिरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुननसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
उनले जनताका बिषयहरुलाई सदनमा राख्न अनुरोध गरेपनि एमालेका सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो ।त्यसलगतै दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएका विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।











