शेयर बजारमा उत्साह, ५६.७३ अंकले बढ्यो नेप्से

प्रकाशित मिति:

६ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको लगानी योग्य रकम ९तरलता० अभाव समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले चालेको पछिल्लो कदमपछि शेयर बजारमा उत्साह देखिएको छ । अर्थमन्त्रालयले सोमबार स्थानीय तहमा गएको बजेटको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । सोमबार नै राष्ट्र बैंकले पनि केही वस्तुहरुको आयातमा कडाइ गर्दै नगद मार्जिन राख्नै पर्ने व्यवस्था गरिदिएको छ । यी दुवै व्यवस्थाले बैंकमा देखिएको तरलता समस्या केही हदसम्म समाधान हुन्छ ।

यसको असर मंगलबारको शेयर बजारमा देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५६ दशमलव ७३ अंकले बढेर २ हजार ४ सय १५ दशमलव ५५ अंकमा पुगेको छ । यस अघि केही दिन यता लगातार जसो शेयर बजार घटिरहेको थियो । मंगलबार ४९ लाख ७४ हजार २ सय ५३ कित्ता शेयर किनबेच भएका छन् भने शेयर कारोबार रकम २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ पुगेको छ ।

मंगलबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेपनि सोमबार धेरै बढ्ने सूचीमा रहेको गुहेश्वरी फाइनान्सको शेयर मूल्य घटेको छ । अन्य केही कम्पनीहरुको शेयर मूल्य घटे पनि अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा समूहगत उपसूचकहरु सबै बढेका छन् ।सोमबार अर्थमन्त्रालयले गरेको निर्णयले बजारमा ५० देखि ६० अर्ब हाराहारीमा तरलता थपिने बैंकर्स संघको अनुमान छ । औसतमा गरिएको कडाइले पनि बैंकमा नगद आउने क्रम बढाउने राष्ट्र बैंकको विश्वास छ ।