कोरोना भ्याक्सिनको चौथो डोज दिने पहिलो देश बन्नेछ इजरायल

प्रकाशित मिति:

इजरायल कोरोना भाइरसको चौथो डोज दिने पहिलो देश बन्ने योजनामा रहेको छ । इजरायलले ओमिक्रोन भेरियन्टका कारण नयाँ लहरका निम्तिने सम्भावना भएका कारण आफू यस्तो योजना बनाउने पहिलो देश बनेको जानकारी दिएको छ ।इजरायलका महामारी विशेषज्ञले ६० वर्ष माथिका मानिस र स्वास्थ्यकर्मीका लागि चौथो बुस्टर डोज दिने सिफारिश गरेको छ ।प्रधानमन्त्री नफ्टाली बेनेटले योजनाको स्वागत गर्दै अधिकारीलाई यसको तयारी गर्नका लागि भनेका छन् ।

इजरायलमा मंगलबार ओमिक्रोन भेरियन्टका कारण पहिलो संक्रमितको मृत्युबारे पत्ता लागेपछि यस्तो निर्णय लिइएको हो ।स्वास्थ्य मन्त्रालयले इजरायलमा ओमिक्रोन भेरियन्टका कम्तीमा ३४० संक्रमित भएको जानकारी दिएको छ ।चौथो बुस्टर डोज लगाउने निर्णय अहिले पनि वरिष्ठ स्वास्थ्यकर्मीसँग विचाराधीन अवस्थामा छ ।यद्यपि, प्रधानमन्त्री बेनेटको कार्यालयले बीबीसीसँगको कुराकानीमा प्रशासनले तेस्रो डोज लगाएको कम्तीमा चार महिनापछि चौथो डोजको अनुमति दिने आशा राखेको बताएको छ ।बेनेटले भने, ‘यो निकै राम्रो खबर हो । यसले हामीलाई संसारलाई आफ्नो चपेटमा पारिरहेको ओमिक्रोनको लहरबाट बाहिर निकाल्न मद्दत गर्नेछ ।’कोभिड–१९ खोप अभियान कार्यक्रम सुरु गर्दा इजरायलका जनताले निकै तीब्र गतिमा खोप लगाएका थिए ।

यति हुँदाहुँदै पनि देशको कूल जनसंख्या ९३ लाखमध्ये कूल ६३ प्रतिशत मात्रै जनताले भ्याक्सिनको दोस्रो डोज लगाएका छन् ।इजाराइल अपेक्षाकृत युवा देश भएका कारण यस्तो भएको हो किनभने देशको एक तिहाई जनसंख्या १४ वर्षभन्दा कमका छन् ।कोरोना महामारीसँग जुध्नका लागि इजरायलले नोभेम्बरमा पाँच वर्षभन्दा माथिका बालबालिकालाई पनि खोप लगाइने घोषणा गरेको थियो ।