हेलिकोप्टर चढेर स्वास्थ्य चौकी उद्घाटन गर्न रौतहट पुगे माधव नेपाल, चार्टर्ड खर्च वडाध्यक्षले तिरे
रौतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुुमार नेपाल रौतहतको स्वास्थ्य चौकी उद्घाटन गर्न हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका छन् । उनलाई त्यहाँसम्म ल्याउने जिम्मा वडाध्यक्षले लिएका छन् । वडाध्यक्षले साथीभाइसँग ५र५ हजारका दरले पैसा उठाएर हेलिकोप्टरको चार्टर्ड खर्च तिरेका हुन् ।अध्यक्ष नेपालले भने कार्यकर्ताको आग्रहबमोजिम बुधबार आफू गाउँको शान बढाउन काठमाडौंदेखि हेलिकोप्टरमा रौतहट आएको बताएका छन् ।रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ५ नरकटियामा रहेको नवनिर्मित स्वास्थ्य चौँकीको भवन उद्घाटन् गर्न दलबलसहित हेलिकोप्टरमा आएका उनले आफूले गाडीमै आउछुँ भनेपनि कार्याकर्ता हेलिकप्टरमा आउन आग्रह गरेकाले आफू हेलिकोप्टरमा आएको बताए ।
उनले आफू नगरपालिकाको भण्डै दुई लाख खर्च गराएर हेलिकोप्टरमा आउन नचाहे पनि स्थानीय कार्यकर्ताले हेलिकप्टरमा आउनुहोस् यसले गाउँको शान बढ्छ भनेर जिद्धी गरेकाले हेलिकप्टरमा आएको जिकिर गरे । उनले कार्यकर्ताहरुले हेलिकोप्टरको खर्च नगरपालिकाले नभएर शुभचिन्तकहरुले आफ्नो खल्तीबाट बेर्होने भनेकाले मात्र हेलिकोप्टर चढेर आएको स्पष्ट पारे ।
‘नगरपालिकाको डेढ, दुइ लाख खर्च गरेर हेलिकोप्टरमा आउनुभन्दा म गाडीमै चढेर आउने पक्षमा थिए,’ उनले प्रफुल्ल मुद्रामा भने , ‘तर कार्यकर्ताले नगरपालिकाको होइन हामीले दाताको सहयोगमा आफ्नो मनले आफ्नो खल्तीबाट हेलिकोप्टरको खर्च बेहोर्ने भनेकाले हेलिकप्टरमा आए । हेलिकोप्टरमा गएर गाउँको शान बढिरहेको छ, मान बढिरहेको छ मैले भने ठिकै छ । जनताको चाहना जे छ मेरो पनि त्यहीँ छ ।’उनले जनताको खुसीनै आफ्नो खुसी भएकाले गाउँको विकासको लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सो वडाका वडाध्यक्ष सुवोध चौधरीले आफूले साथीभाइहरुसँग मिलेर ५–५ हजार उठाएर अध्यक्ष नेपाललाई हेलिकोप्टरमार्फत नरकटिया बोलाएको बताए ।
नेता हेलिकोप्टरमा आउँदा गाउँकै शान बढ्ने भएकाले सबै मिलेर खर्च बेहोर्दै नेताहरुलाई हेलिकोप्टर मार्फत बोलाएको उनको भनाइ छ । नेपाल सरकारको ४० लाखको वजेटबाट निमार्ण भएको सो स्वास्थ्य चौकीको निमार्णपश्चात करिब २५ सय स्थानीयले प्रत्यक्ष लाभ लिन सक्ने उनले बताए ।अध्यक्ष नेपालसँगै सो उद्घाटन कार्यक्रममा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का , पूर्व स्वास्थ्य राज्यमन्त्री वंशिघर मिश्र हेलिकोप्टर चढेर काठमाडौँदेखि रौतहट आएका थिए ।











