कांग्रेस महाधिवेशन : सबै पदको मत गणना सकियाे

प्रकाशित मिति:

काठमाण्डौ – नेपाली कांग्रेसको एक सय ३४ पदका लागि भएको चुनावको मत गणना सकिएको छ । खसरआर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै एक सय ३४ पदका लागि भएको चुनावको सबै मत गणना सकिएको हो ।आज बिहीवार बेलुका सम्पन्न मत गणनाअनुसार खसरआर्य खुलातर्फ सात पदका लागि भएको चुनावमा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ । निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।

त्यस्तै खसरआर्य महिलातर्फ ६ जनाका लागि भएको चुनावमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी हुनुभएको छ । गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी भएका हुन् ।यस्तै आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि चुनाव भएकोमा खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको चुनावमा १४ जना संस्थापन समूहका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका हुन् । टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन् । बाँकी सात जना सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीताकुमारी राना र सुशीला थिङ रहेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।आज निर्वाचित भएकाहरूको मतसहितको विवरण भने कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरिसकेको छैन । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि सुरु भएको थियो । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले गरेको छ ।