एसइई परीक्षा खारेज गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । संसदीय समितिले एसइई परीक्षा खारेज गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको विहीवार बसेको बैठकले सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरिसकेको अवस्थामा एसइई परीक्षा खारेज गर्नुपर्ने भन्दै एसईई खारेज गर्न निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीमगरले संघीय शिक्षा ऐन आउन ढिला हुँदा विभिन्न समस्याहरु सिर्जना भएको भन्दै छिटोभन्दा छिटो ऐन ल्याउनुपर्ने बताउनुभयो ।

बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।बैठकमा शिक्षा मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन, प्राविधिक व्यवसाय शिक्षा ऐन र उच्च शिक्षा ऐन निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । एसइई खारेज गर्ने विषयमा सम्बन्धित विज्ञहरुसँग आवश्यक छलफल गरेर शिक्षा ऐनमा व्यवस्था गर्ने उहाँको भनाई थियो ।