९ पुस, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका(१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका-९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।गत शनिबार बिहान जानकी गाउँपालिका(९ को अमरावती सामुदायिक वनमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका दास हत्या प्रकरणको विरोधमा ८ बुुँदे मागसहित स्थानीय लगातार आन्दोलनमा छन् ।
त्यस्तै, कात्तिक २३ मा टीकापुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका बडुुवालका आफन्त पनि अदालतले तीनजना आरोपीलाई धरौटीमा छाडेको भन्दै विरोधमा छन् ।बडुवाल हत्या प्रकरणमा फरार मुख्य योजनाकार भनिएका नवीन रावलसहित नौ अभियुक्तलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । उनीहरूको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।दास हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परे पनि अन्य अभियुक्त फरार छन् । उनीहरूको पहिचान भइसकेकाले खोजी जारी राखिएको कैलाली प्रहरी बताउँछन् ।











