ब्यापार मेलामा कलाकारसंग रमाउंदै दर्शक

प्रकाशित मिति:

बुटवल, ९ पुस । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा सांस्कृतिक कार्यक्रमको रौनक शुरु भएको छ । बिहीबार उद्घाटन भएको मेलामा शुक्रबारदेखि विविध सांस्कृतिक कार्यक्रम शुरु भएका छन् ।उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालित मेलामा लोकदोहोरी तथा आधुनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति शुरु भएको हो ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन नसकेको अवस्थामा आयोजित मेलामा दर्शकहरु आफूलाई मन पर्ने कलाकारको प्रस्तुतिमा रमाउन पाएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न संगीत पारखी दर्शकको मेलामा राम्रो उपस्थिति हुन थालेको सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।शुक्रबार लोक दोहोरी गायक विष्णु खत्री, सपना गाहा, श्रीनिवास थारुले गीतमार्फत र सविता भुसालले नृत्यमार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका छन् । यस्तै एकलाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिताका प्रतियोगीको प्रस्तुति पनि रहेको थियो । शनिबार चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारको प्रस्तुति रहने प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । मेलामा किनमेल र नयां उत्पादन अवलोकन, बाल उद्यानमा रमाउन पनि अवलोकनकर्ताको भीड लाग्न थालेको उनले बताए ।

निःशुल्क दन्त परामर्श र रक्तदान
मेलामा शुक्रबारदेखि निःशुल्क दन्त परामर्श सेवा शुरु भएको छ । उद्योग ब्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले उक्त सेवाको उद्घाटन गरेका छन् । मेला अवधिभर दर्शकलाई दांतसम्बन्धी समस्याबारे दन्त चिकित्सक डा. काजोल श्रेष्ठ, डा. मनिला गुरुङ लगायतले निःशुल्क चेकजांच गरी परामर्श दिने अमृत भुसालले बताए । यस्तै मेलामा हरेक दिन रक्तदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।