बर्दियामा एक वर्षमा ५३ जना बालिका तथा महिलाहरु बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको हो ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाले नेपाल मानवअधिकार वर्ष पुस्तकको सम्पादन पुर्व समिक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । बर्दिया जिल्लामा एक वर्षमा ३५ जना १८ वर्षमुनिका बालिकामा बलात्कार र बलात्कारको प्रयास भएको तथ्याङ्कमा उल्लेखित छ । त्यसैगरी १८ वर्षभन्दा माथिका १८ जना महिलाहरुमाथि बलात्कार भएको इन्सेक बर्दियाले जनाएको छ । गत वर्ष (सन् २०२०) को तुलनामा बलात्कारका घटनामा वृद्धि भएको हो । गत वर्षको तथ्याङ्कमा २६ जना बालिका माथि बलत्कार भएको थियो । भने १५ जना महिला बलात्कारको शिकार भएका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरीले सन २०२१ जनवरीदेखि डिसेम्बरसम्म बर्दिया जिल्लामा घटेका मानवअधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरेका थिए । प्रस्तुत घटनाहरुमा महिलामाथि दुर्ब्यवहार तीन, बालविवाह तीन, बहुविवाह १५, जातीय छुवाछुत तीन, बोक्सीको आरोप तीन, आत्महत्या दुरुत्साहन दुई, बालिका बेपत्ता एक गरी ८२ वटा घटनाको विवरण सार्वजनिक गरेका थिए । गत वर्ष (सन् २०२०मा ) ७० ओटा मानवअधिकार उल्लघंनका घटना सार्वजनिक गरीएको थियो । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकको रुपमा पुस्तक प्रकाशन गर्दै आएको छ ।
कार्यक्रमका सहभागीहरुले प्रहरीमा मुद्दा दर्ता नभएका घटनाहरुको पनि इन्सेकले खोजविन गरी अभिलेखिकरण गर्नुपर्ने सुझाव दिएका छन् । अझै पनि समाजमा जघन्य अपराधलाई ढाकछोप गर्ने र समुदाय मै मिलाउने गरीएको भेटिने गरेको उनीहरुको भनाई छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी रहेको बताउँदै सोही अनुसार काम गर्दै आएको बताएका छन् ।











