मृत भेटिएका एसएसपी यादवको अन्त्येष्टि गरियो

प्रकाशित मिति:

रूपन्देही । शुक्रबार मृत भेटिएका संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शनिबार नवलपरासीको त्रिवेणीमा शव यात्रासहित अन्त्येष्टि गरिएको छ ।त्रिवेणीधाम घाटमा यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीयले जानकारी दिएका छन् । शनिबार नवलपरासी रामग्राम नगरपालिका—५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्‍याइएको थियो ।

शवयात्रामा प्रहरीका उच्च अधिकारीहरुसहित आफन्त, नगरवासीलगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए ।घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो ।शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

घटनापछि गृहमन्त्री बालकृष्ण खाँण, उच्च प्रहरी अधिकारी शनिबार नै घटनास्थल पुगेका थिए । गृहमन्त्री खाँणले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।