सिद्धार्थनगरमा ७ करोडको लागतमा गेट निर्माण

प्रकाशित मिति:

पुनहरि बेल्बासे-भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डन्डाखोला नजिक पर्यटकीय गेट निर्माण भएको छ । करिब ७ करोडको लागतमा निर्माण गरिएको गेटको उद्घाटन प्रतिनिध सभा सदस्य घनश्या भूसालले गरेका छन् । उद्घाटन गरेको गेट वि.सं.२०७५ माघ १० गते भूसालले नै शिलन्यास गरेका थिए ।पर्यटकीय गेट दुई चरणमा ठेक्का भएको थियो, प्रथम चरणको कार्य २०७५ असार २५ मा सम्झौता भई २०७७ असार ३० गते सम्पन्न भएको हो भने दोस्रो चरणको काम २०७७ मंसिर ९ गते सम्झौता भइ २०७८ पुस मसान्तसम्म सम्पन्न गर्ने थियो । दोस्रो सम्झौताको सम्पन्न गर्ने समय अघि नै गेटको उद्घाटन गरिएको छ ।

गेट पहिलो चरणमा २ करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँमा ठेक्का भएको थियो भने दोस्रो चरणमा रु. ४ करोड ४८ लाख ९३ हजार रुपैयाँ र कन्टेन्जेन्सी समेत गरी यो परियोजना ७ करोड ९ लाख २७ हजार रुपैयाँको लागतमा सम्पन्न भएको छ । गेट निर्माण गर्ने जिम्मा प्राकृतिक निर्माण प्रा.लि. सि.न.पा.–९ ले पाएको थियो ।गेटमा स्वम्भुको आँखा रहेको हर्मिका गजुर तथा स्तुपा आकार दर्शाउन १३ रिंग राखिएको छ भने १२ वटा रुपका बुद्धका मूर्तिहरु गेटको चारैतर्फबाट राखिएको छ । गेटको चार कुनामा हरियाली बनाउन स्टिलको रेलिङ्ग हालेर वृक्षारोपण गरी फूल लगाइएको छ ।पर्यटकीय गेटको सडकको सतहदेखि आर्कसम्म १६.८० मिटर, आर्कदेखि माथि गजुरसम्म १४.५ मिटर उचाई तथा कुल उचाई ३१.३० मिटर रहेको छ । ‘गेटलाई आकर्षक बनाउन लाईटिङ्ग सिस्टम राखिएको छ, आर्कलाई डोम र स्तुपाको वास्तुकलामा आधारित भएर डिजाइन गरिएको र बुद्धिष्ट वास्तुकलालाई प्रतिबिम्भ गरेर बनाइएको छ, आँखा भएको स्तुपाले नेपालको स्तुपा हो भन्ने पहिचान गराउँछ ।

सिद्धार्थनगरमा अर्को गेट निर्माणको लागि पनि समझौता हुने चरणमा पुगेको छ । नेपाल प्रवेश गर्ना साथ बेलहियामा भन्सार अगाडी पशुपतिनाथ मन्दिरको स्वरुप झल्किने गरी प्रवेशद्वार निर्माण कार्यको ठेक्का सम्झौता हुने चरणमा पुगेको हो ।पर्यटकीय गेट उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले पर्यटकीय गेट निर्माण कामको हिसाबले ठूलो काम भएको बताए । उनले सिद्धार्थनगरमा शिक्षा, स्वास्थ्य, सडकमा धेरै राम्रो काम काम भएको बताए । ‘ठूलो भौतिक पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन, मानवीय, वैचारिक, सांस्कृतिक विकास गर्नुपर्छ, ’भुसालले भने । उनले सिद्धार्थनगर अझै रचनात्मक कार्य गर्न बाँकी रहेको बताए ।सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सीमित स्रोतसाधनका बाबजुद विभिन्न योजनाहरु अघि बढाइएको बताए । उनले नगरपालिकाको विकासका लागि हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘सबैले नगरपालिका मेरो हो भन्ने भावनाका साथ अगाडी बढे सिद्धार्थनगरको विकासमा अझ टेवा पुग्छ, नगरप्रमुख अधिकारीले भने ।संविधानसभा सदस्य आदित्यनारायण कसौधनले पर्यटकीय गेटले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विशेष गरी भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाले धेरै राम्रो कामहरु गरेको उनको भनाइ थियो ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रबाट समृद्धि प्राप्त गर्न सकिने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषि, पर्यटन, उद्योग र व्यापार मुलुकलाई समृद्ध बनाउने आधार भएको बताए ।