काठमाडौंसहित आठ जिल्लामा फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित

प्रकाशित मिति:

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित आठ जिल्लाका बालाबालिकाका लागि सञ्चालन गर्ने भनिएको कोभिड–१९ विरुद्धको फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित गरेको छ ।खोप दिनका लागि आवश्यक पर्ने ०।३ एमएलको सिरिन्ज प्राप्त नभएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका ५७ जिल्लामा अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोर्डना खोप दिइँदै छ । उपत्यकाका तीनसहित काभ्रे चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा भने यो उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइने सरकारको तयारी थियो । तर, युनिसेफले उपलब्ध गराउनुपर्ने ५० लाख सिरिन्ज आइनपुगेपछि कार्यक्रम तत्काललाई स्थगित गरिएको हो ।स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले ५० लाख सिरिन्ज केही दिनभित्रै आइपुग्ने भन्दै केही दिनका लागि मात्रै खोप कार्यक्रम ढिलो भएको बताए ।

नेपालमा अहिले ११ देखि १७ वर्षसम्मका बालबालिकालाई ५७ जिल्लाबाट मोर्डना, १८ वर्षमाथिका नागरिकका लागि सबै जिल्लाबाट एस्ट्राजेनेका र भेरोसेल तथा विदेश जानेहरूका लागि काठमडौंका चारवटा अस्पतालबाट जोनसन एन्ड जोनसनको खोप दिइँदै छ ।