वासिङटन । अमेरिकाका एक पुरुष आनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्ति बनेका छन् ।चिकित्सकहरूका अनुसार बाल्टिमोरको एक अस्पतालमा सात घण्टा लामो प्रयोगात्मक शल्यक्रियामार्फत सो मुटु प्रत्यारोपण गरिएको तीन दिनसम्म पनि ५७ वर्षीय डेविड बेन्नेटको स्वास्थ्य अवस्था सामान्य छ ।उनको जीवन बचाउने एक मात्र अन्तिम विकल्प मुटु प्रत्यारोपण मात्रै रहेको थियो । तर, अझै पनि उनी यसको सहारामा कति लामो समयसम्म बाँच्छन् भनेर यकिनसाथ भन्न सकिएको छैन ।
शल्यक्रियाको एक दिनअघि बेन्नेटले भनेका थिए, “यो ‘मर कि यस्तो प्रत्यारोपण गर’ भन्ने शल्यक्रियाको स्थिति हो । मलाई थाहा छ, यो अँध्यारोमा तीर हान्नुजस्तै हो । तर, मेरो लागि अर्को कुनै विकल्प नै छैन ।”शल्यक्रिया नगरिएको खण्डमा बेन्नेट मर्ने निश्चित भएकाले अमेरिकी चिकित्सकीय नियमन निकायले युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई सुँगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति दिएको हो ।यस कार्यमा खटिएको चिकित्सको टोलीले वर्षौँदेखिको यससम्बन्धी अनुसन्धान सफल भएको खण्डमा विश्वका मानवजगतकै जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरेको छ । शल्यचिकित्सक बार्टली ग्रिफिथले यसको सफलताले विश्वमा प्रत्यारोपणका लागि हुने अंग अभावको समस्या सुल्झिने बताएका छन् ।
युनिभर्सिटी अफ मेरिल्यान्ड स्कुल अफ मेडिसिनले प्रत्येक दिन अंगको अभावका कारण प्रत्यारोपणको प्रतीक्षामा रहेका १७ व्यक्तिो मृत्यु हुने गरेको र अहिले पनि १० हजारभन्दा बढी मानिस अंग प्रत्यारोपणका लागि प्रतीक्षारत रहेको जनाएको छ । बीबीसीबाट ।











