अझ जिम्मेवार भएर कार्यसम्पादनमा जुट्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति:

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा पनि आफ्नो दायित्व पूरा गर्दै आएको बताएका छन् ।सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकको जीवन रक्षा तथा विषम् परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत वितरणलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर एपिएफ अस्पतालमार्फत् संक्रमितहरुको उपचारमा पुर्याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरेका छन् ।गृहमन्त्री खाँणले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१ औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारीपूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिएका छन् ।

त्यसक्रममा उनले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।