सामूहिक विकास सहकारीको साधारणसभा; उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव

प्रकाशित मिति:

तिलोत्तमा, ११ माघ -सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए ।सामूहिक विकास सहकारी संस्था लिमिटेड तिलोत्तमा–३ रुपन्देहीको २७ औं वार्षिक साधारणसभा एवं एकीकरणपछिको प्रथम साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरीले सहकारीले तीनखम्बे अर्थनीति अनुरुप भूमिका निर्वाह गर्न नसकेको बताए । सहकारी क्षेत्रको लागि अनुकुल कानुन निर्माण हुन नसक्दा तीनखम्बे अर्थनीति अनुसार सहकारी क्षेत्रको भूमिका नदेखिएको उनको भनाई छ ।

सांसद गिरीले कतिपय ठाउँमा सहकारीका नाममा ठगीधन्दा मौलाएको र राज्य यसमा उदासीन बनेको आरोप लगाउँदै तर समूहिक विकास सहकारीले भने सहकारीताको क्षेत्रमा महत्वपूर्ण उपलव्धि हासिल गरेको बताए । “सामूहिकले आफूलाई बलियो संस्थाको रुपमा उभ्याएको छ भने यसले गरेको काम अरु सहकारीका लागि पनि प्रेरणादायी बन्न सक्छ”–उनले भने ।
जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईले सहकारीको मूल्य मान्यता अनुसार सहकारी क्षेत्र अगाडि बढ्नुपर्नेमा जोड दिंदै कतिपय ठूला सहकारीहरुमा संस्कार हराउँदै गएको र अहंकार बढ्दै गएको बताए । आयआर्जनको क्षेत्रमा लगानी बढाउन सुझाव दिंदै उनले यसबाट मात्रै मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । सानो पुँजीबाट उद्यम गर्न चाहनेहरुका लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै उनले प्रतिफलमुखी क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे ।त्यस अवसरमा संस्थाका अध्यक्ष सुरेन्द्र बर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा तिलोत्तमा–१ का वडाअध्यक्ष तामानाथ पाण्डे, शेयर सदस्यहरु राम गिरी, राश्री गौतम आत्रेय, संस्थाका उपाध्यक्ष लक्ष्मण ज्ञवाली, सचिव मिनप्रसाद पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।साविकका मणिप्रभा बचत तथा क्रृण सहकारी संस्था, सूर्यकिरण बचत तथा क्रृण सहकारी संस्था र द्रव्यान्जली बचत तथा क्रृण सहकारी संस्था सामूहिकमा गाभिएपछि मंगलबार प्रथम एकीकृत साधारणसभा भएको हो । एकीकरण भएसँगै सहकारीको कुल शेयर सदस्य संख्या ९ हजार ५४६ पुगेको छ ।

कार्यक्रममा साविकका चारवटै सहकारीका सञ्चालक, लेखा समिति, विभिन्न क्षेत्रमा उत्कृष्टहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।एकीकरणपछि सहकारीको शेयर पुँजी ३० करोड १५ लाख ८२ हजार पुगेको छ भने बचत दुई अर्व ३३ करोड ९१ लाख ४५ हजार ३८७ पुगेको छ । त्यस्तै सहकारीले दुई अर्व २६ करोड २० लाख ७० हजार ६८८ लगानी गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले जानकारी दिए । त्यस्तै सहकारीको एकीकृत वासलात तीन अर्व दुई करोड ७१ लाख ८० हजार ७९७ पुगेको छ ।

 

रूपन्देही सामाजिक सञ्जालका अध्यक्ष पोखरेल अष्ट्रेलियामा सम्मानित

नेपाली युथ फोरम अस्ट्रेलियाका संरक्षक र हाल रूपन्देही सामाजिक संञ्जाल (आरएसएनए) अस्ट्रेलियाका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेल एसटी. जर्ज कम्युनिटी भोलन्टियर्स अवार्डबाट अष्ट्रेलियामा सम्मानित भएका छन् ।सेन्ट जर्ज एरियामा रहेर परोपकारी एवं समुदाय हितका लागि गरेको योगदानको उच्च मूल्याकन गर्दै एक कार्यक्रम बीच मंगलवार अस्ट्रेलियाका नवनियुक्त बहुसास्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क कोर जोसेपले पोखरेललाई सम्मान गरेका हुन् ।


त्यस अवसरमा पोखरेलले यस सम्मानले आफु प्रसन्न हुँदै समुदायको हितको लागि सामाजिक कार्यमा अझ अगाडि बढ्न् प्रेरणा प्राप्त भएको र थप जिम्मेबारी बहन् भएको धारणा ब्यक्त गरे ।पोखरेल पछिल्लो बिगत ९ वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाई बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय हुँदै आईरहेका छन् । जसमा फेन्का प्रतिनिधि सदस्य, नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एशोसिएशन अष्ट्रेलियाका उपाध्यक्ष, अन्तर्राष्ट्रिय साहित्यक समाजका आजीवन सदस्य रहेका छन् ।

रूपन्देहीबासी पोखरेल यहाँ रहँदा दुई दशक भन्दा बढी समय समुदाय, जिल्ला र केन्द्रका हरेक सामाजिक एवं परोपकारी गतिविधिमा सक्रिय थिए ।

लक्ष्मण पौडेल