रुपन्देही उद्योग संघ र बुटवल टेक्निकल इन्ष्टिच्यूटवीच स्तरवृद्धिको विषयमा छलफल Bachelor of Technical Education-BTechEd पढाई हुदै
बुटवल, ११ माघ–रुपन्देही उद्योग संघ र बुटवल टेक्निकल इन्ष्टिच्यूट, बुटवलवीच इन्ष्टिच्यूट सञ्चालन तथा स्तरवृद्धिको विषयमा मंगलवार छलफल भएको छ । सो अवसरमा इन्ष्टिच्यूटले नेपालमा टेक्निकल क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि स्थापित गरेको आफ्नो मान्यतालाई बचाउदै समय अनुकुल उच्च शिक्षा अध्ययनको लागि चाल्नु पर्ने कदमका बारेमा दुई संस्थावीच गहन छलफल भएको थियो । छलफलमा इन्ष्टिच्यूटले काठमाडौ विश्वविद्यालयको सहकार्यमा यसै बर्षबाट सञ्चालन गर्न लागेको व्याचलर लेवलको मेकालिकल पढाईलाई व्यवस्थित बनाउनका लागि गर्नु पर्ने आवश्यक तयारीलाई सहकार्यको माध्ययमबाट गर्न जोड दिएको थियो ।
विटिआईले सञ्चालन गर्दै आएको तालिमलाई नियमति गर्ने र प्राविधिक शिक्षा शिक्षक उत्पादन गर्ने उद्देश्यसहित काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा ल्याईएको व्याच्लर लेवलको पठाईले नेपालको प्राविधिक क्षेत्रको शिक्षणमा रहेको जनशक्तिको अभावलाई कमगर्न मद्दत गर्ने विश्वास छलफलमा गरिएको थियो ।त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले विटीआई बुटवलका मात्र नभएर नेपालकै प्राविधिक जनशक्ति उत्पादन गर्ने एक कारखाना भएको हुदा यसको स्तरवृद्धि र उच्च स्तरको शिक्षालयका रुपमा विकास गर्नु जरुरी भएको बताउनु भयो ।उहाले विटिआईलाई यस क्षेत्रका व्यवसायीक संघसंस्था तथा उद्योगीहरुले नै बचाएर राखेको इतिहासलाई मेटिन नदिने प्रतिवद्धता व्यक्त गर्दै स्थानिय सरकारहरुसंगको सहकार्यमा जोड दिनु भयो । काठमाडौ विश्वविद्यालयसंगको सहकार्यमा सुरु गर्न लागिएको नया पढाई आजको आवश्यक्ता भित्र परेको धारणा राख्नु भयो ।छलफलमा विटिआईका कार्यकारी निर्देशक अभिमन्यू पन्थीले विटिआईको प्राविधिक शिक्षामा अन्तराष्ट्रिय क्षेत्रमा नै नया मोडेल स्थापित गरेको सन्दर्भमा व्याच्लर लेवलको पढाई सुरु गर्ने योजनाले नया उत्साहा जगाएको बताउनु भयो । उहाले प्राविधिक क्षेत्रको शिक्षक उत्पादन गर्ने भनेको मुलुकलाई दक्ष जनशक्तियुक्त बनाउने अभियान भएको हुदा त्यसलाई सफल बनाउने दायीत्व यस क्षेत्रका बासिन्दाको भएको जिकिर गर्नु भएको थियो ।
छलफलमा संघका निर्वमान अध्यक्ष बाबुराम बोहारा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव हरि बहादुर खत्री, महिला सचिव मञ्जु भुसाल, सदस्य लालहरि पाण्डे, जमुना सुवेदी पोखरेल, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, विटिआईका प्रोजेक्ट म्यानेजर राजकुमार थापा, विजनेश प्रशासन प्रमुख चन्द्र केसी, लेखा प्रमुख बेलबहादुर थापा लगायतले धारणा राख्नु भएको थियो । विटिआईले काठामाडौ विश्वविद्यालयको सहकार्यका यसै शैक्षिकसत्रबाट नेपालमै पहिलो पटक मेकानिकालको व्याच्लर लेवलको कक्षा सञ्चालन गर्न लागेको छ । Bachelor of Technical Education-BTechEdको ४ बर्षे कोर्ष सञ्चालन गर्ने जनाइएको छ । जसबाट टेक्निकल शिक्षक उत्पादन हुने छन् । काठमाडौ विश्वविद्यायले तयार पारेको शैक्षिक क्यालेन्डर र परिक्षा प्रणालीबाट हुने पढाईका लागि ५ लाख ७२ हजार शुल्क निर्धारण गरिएको छ । यो पढाईका लागि विद्यालयमा ९ देखि १२ कक्षा सम्म अध्ययन गरेका प्राविधिक विद्यार्थी, सिटीभिटी डिप्लोमा गरेका तथा विज्ञानमा प्लस टु गरेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् ।









