गाउँपालिका अध्यक्षलाई विद्यालयमा अभिभावकले कालो झण्डा देखाएपछी ,,,,,,,,,

प्रकाशित मिति:

पुष ४ बिर्तामोड । विद्यालयमा भएको आर्थिक अनियमितताको छानविनको माग गर्दै गाउँपालिका अध्यक्षलाई अभिभावकहरुले सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाएका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयले सोमवार आयोजना गरेको विद्यालयको ५६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई अभिभावकहरुले कालो झण्डा देखाएका हुन् । विद्यालयले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमको अध्यक्ष राजवंशीले उद्घाटन गरे लगत्तै स्टेज नै कव्जा गरेर विद्यालयमा भएको आर्थिक अनियमितताको छानविनको मागसहित प्रधानाध्यापक, विद्यासागर चौधरी, सहायक प्रधानाध्यापक गुणनिधि लुइँटेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोयानाथ पोखरेलसहित सम्पूर्ण सदस्य र राजगढ श्रोतकेन्द्रका श्रोतव्यक्ति छविलाल वस्नेतको राजीनामा माग गरेका छन् ।

आफूहरुले विद्यालयमा आर्थिक अनियमितता भएको विषय पटक–पटक उठाउँदा समेत गाउँपालिका र श्रोत केन्द्र तथा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र इटहरीले समेत चासो नदेखाएको भन्दै अभिभावकहरुले आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले विद्यालयले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रम बन्द गराएका थिए ।

अभिभावकले कालोझण्डा बोकेर दिनभर स्टेज कव्जा गरेपछि त्यहाँ उपस्थित अतिथि समेत अन्यौलमा परेका थिए । अभिभावकहरुको विरोध प्रदर्शनलाई बिद्यार्थीले समर्थन गरेका थिए । विद्यालयमा नियमित पठनपाठन हुनु पर्ने, आर्थिक पारदर्शिता हुनुपर्ने, अभिभावकले उठाएका मुद्दा तुरुन्त सम्वोधन गर्न उनीहरुले माग गरेका थिए । विरोध गर्ने अभिभावको संख्या बढ्दै गएपछि प्रधानाध्यापक चौधरीले आफ्ना कुरा राख्न खोज्दा वास्तविकता सार्वजनिक नगरी स्पष्टीकरण दिनकै लागि मात्र माइक्रोफोन नदिने भन्दै उनीहरुले बोल्न समेत दिएनन् ।

तीन दिनभित्र सत्यतथ्य सार्वजनिक गर्न निर्देशन
बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले विद्यालयमा भएको आर्थिक अनियमितताको विषयमा तीन दिनभित्र सत्यतथ्य सार्वजनिक गर्न विद्यालय प्रशासनलाई निर्देशन दिएका छन् । कालो झण्डा प्रदर्शन गर्ने अभिभावककाबीच आफ्ना भनाइ राख्दै अध्यक्ष राजवंशीले आफ्नै ठाउँमा रहेको विद्यालयमा भएको आर्थिक अनियमितताको विषयमा छानविन गर्न ढिलासुस्ती गरेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न विद्यालय प्रशासनलाई कडा निर्देशन दिएका हुन् । उनले कालो झण्डा गणतन्त्रको प्रतिक भएको भन्दै आन्दोलनमा सहभागी अभिभावकलाई विद्यालयमा भएको आर्थिक अनियमितताको विषयमा गरिएको विरोध स्वागतयोग्य भएको बताएका थिए । उनले विरोध गर्ने क्रममा विद्यार्थीको पठनपाठनमा भने अवरोध नगर्न अभिभावकहरुलाई आग्रह समेत गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले समेत यो विषयमा चासो नदिएको भन्दै गाउँपालिका शिक्षा शाखा प्रमुखलाई विद्यालयको वास्तविकता सार्वजनिक गर्न खटाउने प्रतिवद्धता जनाएका छन् ।

पठनपाठन अवरोध गर्दैनौंः अभिभावक
विद्यालय शान्ति क्षेत्र भए पनि विद्यार्थीको भविष्य शिक्षकले नै अन्यौलमा पार्ने चेष्टा गरेको भन्दै आफूहरु कालो झण्डा लिएर विद्यालयमा प्रवेश गर्नु परेको अभिभावकले बताएका छन् । उनीहरुले विद्यालयमा भएका वास्तविकता सार्वजनिक नभएसम्म कुनै पनि औपचारिक कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन् । विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नपु¥याउने बताएका अभिभावकले शिक्षकको भने निरन्तर निगरानी गरिरहने स्थानीय खगेन्द्र ओझाले बताए । उनले विद्यलयको वास्तविकता सार्वजनिक गर्दै प्रधानाध्यापक चौधरी, सहायक प्रधानाध्यापक लुइँटेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोखरेल सहित सम्पूर्ण सदस्य तथा श्रोतव्यक्ति बस्नेतले राजीनामा नदिएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताए ।

यसरी खनिए श्रोतव्यक्तिसंग अभिभावक
पशुपति माविको प्राङ्गणमा राजगढ श्रोत केन्द्र रहेको र सोही विद्यालयमा लाखांै रुपैयाँको आर्थिक अनियमितता हुँदा समेत श्रोतव्यक्ति बस्नेत मुकदर्शक बनेको भन्दै उनलाई समेत अभिभावकले कालो झण्डा देखाउँदै राजीनामाको माग गरे । आफूहरुले विद्यालयमा भएको अनियमितताको विषयमा पटक–पटक जानकारी गराए पनि श्रोतव्यक्तिले चासो नदिएको आरोप लगाए । आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि छानविनको नाममा श्रोतव्यक्ति बस्नेत आफैंले विद्यालयको हिसाबकिताबको नक्कली खाता तयार गरी ढाकछोप गरेको भन्दै श्रोतव्यक्ति वस्नेतलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन् ।

अभिभावकले श्रोतव्यक्ति बस्नेतमाथि नै पशुपति माविमा भएको आर्थिक अनियमितताको आरोप लगाएपछि पूर्वाञ्चलकर्मीले उनलाई सो विषयमा जिज्ञासा राख्दा अख्तियारमा परेको उजुरीको विषयमा आफू केही नबोल्ने बताए ।

तालिममा पनि कालो झण्डा
जिल्ला मदरसा समिति झापाले राजगढ श्रोतकेन्द्रमा आयोजना गरेको तीन दिने उर्दू, अरवी तथा नेपाली विषय सम्वन्धि मौलवीहरुको तालिममा श्रोत व्यक्ति बस्नेत पुगे लगत्तै अभिभावकहरुले कालो झण्डा बोकेर तालिम कक्षमै पुगेका थिए । श्रोतव्यक्ति बस्नेत सो तालिमका लागि प्रशिक्षक थिए । बिरोधमा उत्रिएका अभिभावक र विद्यार्थीले तालिम केन्द्रमै पुगेर हो–हल्ला गर्न थालेपछि बस्नेत वाहिरिएका थिए । तालिममा जिल्ला भरका मुस्लिम समुदायका शिक्षकको सहभागिता थियो ।

पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता भएको भन्दै यसअघि अभिभावकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।