काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गर्नुभएको छ ।प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन गर्नेसमेत बताउनुभयो ।“स्थानीय तहको निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए”, उहाँले भन्नुभयो, “पत्रकारले पनि समयमा नै स्थानीय तहको निर्वाचन गर्ने दिशामा कमल चलाउनुपर्दछ ।” उहाँले मुलुकलाई आर्थिक, विकास र समृद्धि तिर लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीले विद्यार्थी, युवा र महिलाबाहेक सबै जनवर्गीय सङ्गठनको महाधिवेशन गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले ठूलो सङ्गठन संरचना नभई चुस्तदुरुस्त बनाइने बताउनुभयो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सरकारले संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले अझै पनि समयमा नै तलब नपाउनु परेको पीडा रहेको उल्लेख गर्दै त्यस्ता आम सञ्चारमाध्यममा खबरदारी गर्नुपर्ने बताउनुभयो ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशा नै धरमरमा रहेकाले सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो । उहाँले नाम मात्रका पत्रकार तर अर्कै व्यवसाय गर्ने धेरै नै रहेकाले नेपाल पत्रकार महासङ्घले छानबिन गर्नुपर्ने बताउनुभयो । पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अझै पनि पत्रकारले समयमा नै तलब नपाएको बताउनुभयो । उहाँले महासंघ निरन्तर पत्रकारको हकहितका लागि काम गरिरहेको बताउनुभयो ।
महासंघ पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारलाई अहिले पनि काम गरेको तलब पाउनका लागि समस्या भइरहेको बताउनुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको रक्षाका लागि चौतारीले सधैँ खबरदारी गर्ने बताउनुभयो । उहाँले पत्रकारले अहिले पनि श्रमजीवी पत्रकार ऐनअनुसार तलब नपाएकाले सरकारले तुरुन्तै ऐनअनुसार तलब उपलब्ध गराउनुपर्ने बताउनुभयो ।











