राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार सांझ धकधईमा विरोध प्रदर्शन

प्रकाशित मिति:

भैरहवा, २३ माघ -नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार सांझ धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि, सरकारी असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरु राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए ।विरोध प्रदर्शन पश्चात बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

त्यस्तै नेकपा एमाले रोहिणी गाउँपालिका कमिटीका सचिव भोला क्षेत्री (राजाबाबु), राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित कुमार शुक्लाले गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।