राजनैतिक संस्कार

प्रकाशित मिति:

राजनैतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा ल्याउदा देखिन आउने चरित्र हो । व्यवहार हो । लोकतन्त्र राजनीतिक शब्दावली मात्रै होइन यो एउटा संस्कार, संस्कृति र नैतिकताको पक्ष हो । राजनैतिक संस्कार भित्र एकआपसको आदरभाव, सम्मान, मूल्यमान्यता, सहमति, सहकार्य, एकता सह–अस्तित्व हुनुपर्दछ । कम्तिमा पनि राजनैतिक संंस्कार व्यक्त गर्न हामी कति प्रजातान्त्रिक छौ ? कति सत्यलाई स्विकार गर्न सक्छौं ? अरुको विचारमा सहमत हुन सकौला या नसकौला तर कति अरुको विचारलाई सम्मान गर्न सक्छौं ? अरुको अस्तित्वलाई स्विकारेर हातेमालो गर्न सक्छौं की सक्दैनौ? हामी कति उदार छौं ? मूल्यांकन गर्न सक्नुपर्दछ । किनकी असल राजनैतिक संस्कारले आपसमा सद्भाव, सम्मान, सहकार्य, सह–अस्तित्व खोज्दछ ।

राजनैतिक संस्कार एक पछि अर्को पुस्तामा हस्तान्तरण हुने हुनाले जे देख्यो त्यै सिक्यो हुने स्थिति अवश्य रहन्छ । यसैले धरालतबाट उठेर गएकाहरु उक्त धरातलप्रति नै अन्यायी बन्नु हुंदैन । पद भनेको अभिमान र अहमताको लागि होइन । पद सधैका लागि पनि होइन । पदमा रहेका व्यक्तिहरु नमुना (मोडल) हुन यसैले तिनीहरु झन् बढी विनयशील, सरल र सहृदयी हुुनुपर्छ । पदमा आसिन व्यक्तिहरु स्वयम अनुशासन र कर्तव्यको घेरामा अझ उदाहरणीय बन्न सक्नुपर्दछ । निस्वार्थ व्यक्ति र शिक्षित व्यक्ति त्यस्ताको अगाडि शिर झुकाउदछन् जसको उच्चतम नैतिक चरित्र हुन्छ । बलले झुकाएको शिर सदा सर्वदाको लागि झुक्दैन । यसैले नेताले कार्यकर्तालाइ सधै सही राजनैतिक संस्कार दिनुपर्दछ ।

अब त झन् आइटिको जमाना आयो । हरेक कार्यकर्ता तथा मतदाताले आफ्ना नेताहरुको क्रियाकलाप व्यवहार, ऐजेण्डा, चरित्र तथा हरेक गतिविधि मोबाइलबाटै हेरेर मूल्यांकन गरिरहेका हुन्छन । घरमै बसेर नेताको चरित्र, लोकतन्त्र वा पार्टीको सिद्धान्त प्रतिको निष्ठा उसको सामाजिक चरित्र, उसले आर्जित गरेको आर्थिक हैसियतको आधार राजनैतिक पृष्ठभूमी समाज र देशको लागि गरेको योगदान आदि हेरेर बसेका हुन्छन । अब त कुनै कुरा लुकाएर लुक्नेवाला छैन । कार्यकर्ताले नेतालाइ मान्नु पर्ने कारण नेताको इमान्दारीताले हो, नेता इमान्दार छैन,मान्नु पर्ने कारण छैन । यसैले उच्चतम नैतिक चरित्र विहिन व्यक्ति नेता या अगुवा बन्न सक्ने स्थिति नै छैन । राजनीतिको प्रथम शर्त नै उच्चतम नैतिक चरित्र बनेको छ ।

नेताले हारजीत जे भएपनि सधै आफू केन्द्रबिन्दुमा हुनु पर्छ भन्ने चाहना राख्दछन् जुन तानाशाही प्रवृत्ति हो । संकिर्ण राजनितिक संस्कार भएका नेताहरुमा शिष्टाचार, आचार र कतब्र्यमा बाधेर राख्ने प्रेरणा उनिहरुको आफ्नै अन्तर आत्माबाट आउदैन, आफु भन्दा बाहिरको जनशक्ति र स्वतन्त्र कार्यकर्ताले मात्र उनिहरुलाइ बाधेर राख्दछ। त्यो शक्ति कमजोर पर्यो भने नेताको मर्यादाहिनताको कुनै अत्य हुने छैन । संकिर्ण राजनैतिक संस्कारमा कार्यकर्ताले नेतृत्वले भनेको कुरा र व्यवहार अनुसरण गर्नुपर्दछ। कार्यकर्ता आफै निर्णायक हुंदैनन् । त्यस्तो

राजनैतिक अभ्यासबाट लोकतन्त्रको सिद्धान्त आचरण र व्यवहार उल्टो बनाउने कोसिस हुन्छ ।
एउटा राजनैतिक संस्थालाइ त्यसको शिद्वान्त, त्यसका सदस्यहरुको आचरण कार्यक्षमता, त्यसले जनताबाट प्राप्त गर्न सकेको विश्वास र त्यसका नेताहरुको क्षमता र इमान्दारीताले जीवन्त बनाउछ । यसैले उच्चतम राजनैतिक संस्कारमा नेताहरुले विचार लादिरहने हैन, जनता तथा कार्यकर्ताको मनोभावना बुझ्ने र जन चाहना थाहा पाउने हो । लोकतन्त्रमा जनता नै सम्प्रभू सम्पन्न हुन् । तिनीहरुको अगाडि राजशी ठा“ट देखाएमा जनता भित्रभित्रै दुःखी हुन्छन् । फलस्वरुप नेताको राजशी शान र जनताको भावना बिचमा दुरीको श्रृजना हुन्छ । यो दुरिको छाया“ भावी अधिवेशन या निर्वाचनमा देखा पर्दछ । यस्तै कार्यकर्ताहरु पार्टीमा आस्था र निष्ठाका साथ लागेका हुन्छन् । समाज सेवा गरेका हुन्छन् जो कसैले केही खाएका पाएका हुदैनन् । यसैले ममता पुर्ण व्यवहार गर्नुपर्दछ । भाइचारा र साथीत्वको व्यवहार गरिनुपर्छ । यसैले होला समानतामा आधारित साथित्वको भावको लागी जय नेपाल भन्ने गरेको ।

लोकतन्त्रको अर्को मधुर तथा सुन्दर पक्ष भनेको, लोकतन्त्रको अभ्यास आफ्नै आन्तरिक पार्टीभित्र गएर सिक्नु हो । अधिवेशनको माध्यमबाट निर्वाचनमा गएर जनता र कार्यकर्ताको लागि नेता छान्ने प्रकृया लोक लोकतान्त्रिक प्रकृया हो । नेताका लागि नेताकै प्रिय मनोनित गर्नु तानाशाही प्रवृत्ति हो । हजारौं सदस्य साथीहरुको घर आगनमा पुगेर निर्वाचनमा मत माग्दै हिड्नु भन्दा एक आध नेताको चाप्लुसी गरेर टिको लगाउनमा इच्छा गर्ने अवसरवादीहरुको संख्या आजकाल बढ्दो छ । जसले नेताको राजशी ठा“टलाई अझ बढाएको छ । गुटगत राजनीतिलाई प्रसय मिलेको छ । सामाजिक जीवन र चरित्र कमजोर र जनआस्था नभएको व्यक्ति पनि गुटको साहारामा विजयी हुने हु“दा पार्टीकै ओझ घटेको छ । समाजमा नरुचाइएको व्यक्ति जसको जनआधार छैन ऊ नेताको टिको लगाएर आउछ भने पार्टीको ओझ मात्र होइन, कार्यकर्ताको उर्जावान, मनोबल पनि घटाएको हुन्छ । त्यै टिके बन्ने दाउमा कोही ठूला ठूला रकमको सहयोग गरिरहेका छन् । कोही ठूला ठूला षडयन्त्र गरिरहेका छन् । क्षणिक समयको लागि जति ठूलो षडयन्त्र त्यति ठूलो राजनीतिज्ञ जस्तो देखिएला तर यसले आफ्नै वरपरका मित्रगणसंगको दुरी बढाएको हुन्छ । त्यस्ता व्यक्तिहरुप्रतिको सामाजिक विश्वास पनि हराइरहेको हुन्छ । यसरी धन, चाप्लुसी र षडयन्त्रको आडमा लिइने पद पनि शोषण नै हो । छिटो प्रगति गर्छु भन्ने लोभमा यो मनोनित हुने दाउ त यूवामा पो बढि रहेको देखिन्छ । यो मनोनित (टिके) बन्ने दाउले युवाहरुको दिमागलाई खोज र अनुसन्धान मूलक काममा भन्दा द्वन्द र खुराफातमा बढि लगाएको देखिन्छ । सायद यसैको उपज होला नेताको आ“खामा पर्नको लागि हुने अधिवेशनको लडाई, झगडा आदि । जसबाट हनुमानगीरी र झोलेवादको बिकाश हुन्छ । यथार्तमा यस्तो क्रियाकलाप समग्र लोकत्रान्त्रिक बिधि र ब्यक्तित्वको लागि अपमान र पार्टीको लागि नोक्सान हो ।

अर्कोतर्फ अहिले युवा–युवा भन्ने जनआवाज उठेको छ । व्यक्ति उमेरले यूवा होइन, विचार र परिपक्वताले युवा हुनु पनि जरुरी छ । संगठानिक क्षमता, भिजन र प्रतिस्पर्धामा उत्रन सक्ने क्षमता पनि हुनुपर्छ । युवा भएकै भरमा नेतृत्वमा दावी गर्न का“हा मिल्छ र ? आफूभन्दा अग्रज नेतालाई गाली गरेको भरमा वाःवा गरेर नेतृत्व प्राप्त अवश्य हु“दैन । सुख दुख, मर्यादा अमर्यादा खपेर नै दृण चरित्रको निर्माण हुन्छ । जोगाएर राखेको या अर्काले बनाइदिएको ब्यक्तित्व दरो हुदैन, अग्रज नेतालाई गाली गरेर पपुलर हुने प्रवृत्ति सही होइन, युवाले विचार, दृष्टिकोण, संगठानिक क्षमताले प्रशिद्धि कमाउनु पर्छ ।

यसरी असल राजनीतिज्ञले जनजनबाट आएका विभिन्न विचार सुन्नाले राजनैतिक नेतालाई जन अपेक्षा अुनरुप कार्य गर्न सहज हुन्छ । जन–अपेक्षा अनुरुपको कार्य गर्ने नेता मात्र जनताको नेता बन्न सक्छ । जसले असहज परिस्थितिलाई पनि सहज बनाएर शासन गर्न सक्छ । प्रतिकूल परिस्थितिमा पनि अनुकूल बनाएर शासन गर्न सक्नु नै कुसल शासक हो । असहजता र प्रतिकूलता हिजोका शासकलाई पनि थियो र भोलिका लागि पनि अवश्य रहन्छ ।