ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ !

प्रकाशित मिति:

काठमाडौं, ७ पुष । ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागभित्र असईकाे पेस्ताेल पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन्। उक्त प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक(असई) रमेश तामाङले बोक्ने गरेको पेस्तोलको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ गम्भीर घाइते भएका हुन्। ललितपुर महानगरीय प्रहरी परिसरका एसपी शेखर खनालका अनुसार घटना शुक्रबार राति ९ बजेको हो। ललितपुर महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत् प्रहरी जवान श्रेष्ठ असई तामाङ सुत्ने कोठा(लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभाग) मा आएका थिए। सँगै बसिरहेका बेला आफ्नो पेस्तोल अनलोड गर्ने क्रममा अचानक पेस्तोल पड्केर श्रेष्ठलाई गोली लागेको असई तामाङले बताएका छन्।

श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको छ। उनको अवस्था गम्भीर छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ। घटनापछि असई तामाङलाई महानगरीय प्रहरी परिसरको नियन्त्रणमा राखिएको छ।
उनीहरू एकै ठाउँ दोलखा घर भएका साथी हुन्। ‘अहिलेसम्मको अनुसन्धानबाट भूलवश नै गोली लागेको देखिन्छ,’ एसपी खनालले नेपालखबरसँग भने, ‘यद्यपि छानबिन समिति गठन गरेर घटनाको थप अनुसन्धान गरिरहेका छौं।’ घटना अनुसन्धानका लागि ललितपुर महानगरीय प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।