सात विद्यालयको सहभागीतामा एस. क्यू. सी.को सातौं हव सम्मेलन

प्रकाशित मिति:

तिलोत्तमा, भाद्र २६ । रुपन्देहीका ७ वटा सामुदायिक विद्यालयको सहभागीतामा स्टुडेन्ट क्वालिटी सर्कल (एस. क्यू. सी.)को सातौं हव सम्मेलन भएको छ । सिद्धार्थ हवको आतिथ्यतामा शान्ति नमुना माध्यमिक विद्यालयमा भएको सम्मेलनमा २ सय १० जना विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले शिक्षाबिना समाजको परिवर्तन सम्भव नभएको भन्दै अहिले शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणलाई कायम राख्दै शैक्षिक गुणस्त्तर बृद्धि गर्नका लागि केन्द्रित हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, निवृत्त राष्ट्र सेवक समाजका उपाध्यक्ष टेक बहादुर थापा, शान्ति नमुनाका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बोल्दै विद्यार्थीको चौतर्फी विकासका लागि सामुहिक क्रियाकलाप मार्फत गरिएको विभिन्न प्रतियोगिता निकै फलदायी रहेको चर्चा गर्नुभयो ।


सो सम्मेलनमा विद्यार्थीहरुले सामुहिक क्षमता विकास गर्ने विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । हाजिरी जवाफ, कथा निर्माण, चित्रकला, हिज्जे, कोलाज लगायतका प्रतियोगितामा सहभागिता जनाएका थिए भने विद्यार्थीहरुले भोग्दै आएका समस्याहरुमा गरिएको १७ वटा अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमका संयोजक प्रकाश चापागाईंले जानकारी दिनुभयो ।


सिद्धार्थ हवका संयोजक रबिराज काफ्लेको अध्यक्षता तथा दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रदर्शन गरिएको थियो ।
एस. क्यू. सी. को अन्तराष्ट्रिय सम्मेलन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनमा विभिन्न देशका विद्यार्थी, शिक्षक तथा अभिभावकहरु सहभागी हुने आयोजकले जनाएका छन् ।