एभेरेष्टद्वारा आश्रममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग

प्रकाशित मिति:

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा मणिग्राम स्थित आत्म शान्ति अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । आश्रममा आश्रित असहाय बालबालिकाहरुलाई एभरेष्टको साहित्य क्लवका सदस्य विद्यार्थीहरुको संयोजनमा कपि, कलम लगायतका शैक्षिक तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको विद्यालयका सह–प्राचार्य भीमसेन गौतमले जानकारी दिनुभयो ।

यसैबीच बाल दिवसकै अवसर पारेर विद्यालयद्वारा शैक्षिक सत्र २०७६ र २०७७ मा कक्षा र समग्र विद्यालयबाट तहगत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । शैक्षिक सत्र २०७८ मा अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न खेल र प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने ४ सय २० भन्दा बढी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । आश्रममा आश्रित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्ट भएका एभेरेष्टका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै प्राचार्य कृष्ण न्यौपानेले कलिला बालबालिकाहरुलाई डर, त्रास र करकावमा अध्यापन होईन, उनीहरु अनुकुलको वातावरणमा अध्यापन गराउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले बाल दिवसमा मात्र बालबालिकाको वृद्धि विकासका कुरा गर्ने मात्र नभई हरेक दिन बाल मानसिक्ताका आधारमा अध्यापनको वातावरण अगाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा एभरेष्टका उपप्राचार्य उमेश रेग्मी, माला पाण्डे, शिक्षक माधवप्रसाद पौडेल, सूर्य पौडेल लगायतले बालबालिकाहरुलाई उनी अनुकुलको वातावरण शिक्षालय र घरका आवश्यक रहेको धारणा राख्नु भयो । बाल दिवसकै अवसर पारेर विद्यालयले आयोजना गरेको विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रममा विजयी ४० विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा दुई हजार विद्यार्थी सहभागि भएको विद्यालयले जनाएको छ ।