राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रोहिणीका चार विद्यालय छनोट

प्रकाशित मिति:

भैरहवा /राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुपन्देहीको रोहिणी गाउँपालिकाका चार वटा विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयहरुमा भवन निर्माण तथा कम्युटर ल्याब स्थापना (आइसिटी) हुनेछन् । छनोटमा परेका विद्यालयहरुमा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी–३ धकधई, श्री सरस्वती आधारभूत विद्यालय रोहिणी–७ टिकर, भविष्य उज्जवल आभारभूत विद्यालय रोहिणी–४ पकडिहवा र श्री छिपागढ माध्यमिक विद्यालय रोहिणी–४ छिपागढ रहेका छन् ।

श्री रामनरेश यादव आदर्श मा.वि.को सूचना सञ्चार प्रविधि (आईसिटी)का लागि रु. ६ लाख ५० हजार, श्री सरस्वती आधारभूत विद्यालयको चारकोठे भवन निर्माणका लागि रु. ४५ लाख, भविष्य उज्जवल आधारभूत विद्यालयको दुईकोठे भवन निर्माणका लागि रु. २२ लाख ५० हजार र छिपागढ माविको सूचना सञ्चार प्रविधि (आईसिटी)का लागि रु. ६ लाख ५० हजार बजेट परेको छ ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रको विकासलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने बताए ।बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो ।राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । उक्त कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय विद्यालय छनोट भएका छन् ।