शान्तिमा अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिति:

तिलोत्तमा, भदौ ३१ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज शुक्रबार २४ महिने प्रिडिप्लोमा मेकानिकल इन्जिनियरको अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) अन्तरगत सञ्चालित कार्यक्रममा सहभागी हुन चाहाने विद्यार्थीहरु, उनीहरुका अभिभावक तथा उद्यमीहरुका लागि कार्यक्रम गरिएको हो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले अहिलेको समयमा जसको हातमा सीप छ त्यो व्यक्ति भोकै बस्नुपर्ने अवस्था नरहेको भन्दै प्राविधिक शिक्षा नै आजको समाजको लागि अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण इन्स्योरका प्राविधिक संयोजक कर्म धामी चौधरी र टिम मनिटर समिर बि. क. ले गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मन्त्रालयका महाशाखा प्रमुख थानेश्वर ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष धु्रवप्रसाद धिताल, रुपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, साना तथा घरेलु उद्योग महासंघ लुम्बिनीका अध्यक्ष नेत्र पाठक, बुटवल औद्योगिक क्षेत्र अन्तरगतको बुटवल उद्योग सघंका अध्यक्ष हिरामणी भट्टराइ, महिला उद्यमी शान्ती शर्मा लगायतले बोल्दै प्राविधिक तथा सीपयुक्त शिक्षाको महत्वका बारेमा बोल्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गर्नुभएको थियो भने सिटिइभिटी संयोजक भिमप्रसाद पाण्डेले कार्यक्रमको उद्धेश्यका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।