बौद्धदर्शन, सञ्चार र डा. बालकृष्ण चापागाईं

प्रकाशित मिति:

नारायणप्रसाद पौडेल-संसारका सवै धर्म र दर्शनहरु भावना, कामना र कल्पनामा आधारित थिए र छन् । गौतम बुद्धले प्रयोगलाई प्राथमिकता दिए । आफैलाई उदारण/प्रमाण बनाए । सिद्ध गरेर पनि देखाइदिए । त्यसैले सर्वप्रिय भए । अनि संसारका लागि सुखद समाचार बनेर हावासरी फैलियो बुद्धको विचार र व्यवहार । आफै निस्तेज हुँदै गए विरोधीका अवैज्ञानिक आरोप, प्रलाप र प्रहार । एककान, दुईकान मैदान हुँदै दिन दुगुना र रात चौगुनाका हिसावले बढ्दै गयो प्रचार र ढाक्यो संसार । यही त होला ‘बौद्धदर्शन र सञ्चार’को अति संक्षिप्त एवं सुक्ष्म सार !

पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सेवा थिएन र थिएन मोवाइलको सुविधा पनि त्यतिबेला । पौराणिक कालमा दिव्यज्ञान, दिव्यदृष्टि र दिव्यचक्षु, आकाशवाणि, तन्त्र र मन्त्र साधना, चाहेका ठाउँमा अवतार र अवतरण एवं प्रकटका कुरा गरिएका छन् । ती कति सत्य थिए ? अनुसन्धानकै क्रममा छन् अझै । तर बुद्धकाल (२ हजार ६ सय वर्ष पहिलेको समय) धेरै टाढाको विषय भएन । जे भएको थियो त्यतिबेला, आजको विज्ञान र उपकरणले सजिलै प्रमाण जुटाएर पुष्टि गर्ने सामथ्र्य राख्छ यतिबेला । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन(युनेस्को) सहित विश्वका धेरै विश्व विद्यालयहरु शोध खोजमा लागि परेका छन् । उत्खनन् र अन्वेषणको काम जारी राखेका छन् । गौतम बुद्धसंग सम्बन्धित ठाउँ र ठेगाना उनीहरुले खोजे पनि बुद्धका उपदेश, पवित्र प्रवचन, विचार त अजेय, अमर, कालजयी र सर्वस्वीकार्य छन् । अरुको अस्तित्व नस्वीकार्ने, आफैलाई मात्र संसारको निर्माता, ज्ञाता र मुक्तिदाता ठान्नेहरुका अरु धर्म, सम्प्रदाय, दर्शन र विचारको सरल तरिकाले सहज जवाफ दिन्छन् यसरी –

– जसरी तेल सकिएपछि दियो निभ्दछ र प्रकाश कहाँ गयो भनि खोजीनीति गरिदैन । त्यसरी नै शरीरको भौतिक सामथ्र्य सकिएपछि स्वत: चेतनतत्वको अवसान हुने कार्य निर्वाण वा मोक्ष हो भन्ने बुझिन्छ । पृ १५५– मैले भनें भन्दैमा, कतै शास्त्रमा उल्लेख छ भन्दैमा त्यसलाई स्वीकार गरिहाल्नुपर्छ भन्ने छैन । कुनै पनि विचार व्यवहारमा लैजाऊ, उपयोगी भए त्यसलाई लागु गर, अन्यथा लागु नगर । पृ. ३०४
– एकदिन साधनापछि हातमा सिसौका केही पातहरु लिएर विहारमा फर्किएर मुठ्ठीमा राखेका पातहरु देखाउँदै बुद्धले सोधे – भिक्षुहरु, मेरो मुठ्ठीमा भएका पातहरुको संख्या बढी छ कि वनका रुखहरुमा भएका पातहरुको ? जब भिक्षुहरुले उत्तर दिए वनका रुखहरुमा भएका पातहरुको सँख्या नै बढी छ । त्यसपछि बुद्धले भने – हो त्यसैगरी मैले जे–जे देख्दैछु र भन्दैछु, ती मेरा शिक्षाहरुभन्दा अरु पनि धेरै छन् किनभने म केवल तिनै कुराहरुको शिक्षा मात्र दिन्छु, जो सद्धर्मको मार्गमा सफलताका लागि वास्तवमा आवश्यक र सहायक हुन्छन् । पृ. १०२,
– सुन्दरिक भारद्वाज ब्राह्मणहरुले सुन्दरिका नदीतिरमा यज्ञ(हवन) गर्दथे । यज्ञ सकिएपछि प्रसाद दिने क्रममा संयोगबस गौतम बुद्ध त्यही पुगेछन् । गौतम बुद्धलाई ‘मुण्डक’ देखेर तिमी कुन जातका हौं भनेर ब्राह्मणले सोध्दा बुद्धले ‘जात नसोध, आचरण सोध’ भनेर जवाफ दिएका रहेछन् । पृ. १०८

– बोधि राजकुमारले गौतम बुद्धलाई भोजनका लागि आमन्त्रण गरेर तुलमा हिड्न अनुरोध गर्दा बुद्धले नमानेर भनेछन् – राजकुमार ! सुखले सुख सुख प्राप्त हुँदैन, दु:खले सुख प्राप्त हुन्छ । पृ. १०९,
– बौद्धदर्शन र सञ्चार
दु:ख छ, कारण छ र निवारण पनि छ । झुटो नबोल्नु, चोरी नगर्नु, हिंसा नगर्नु, दया गर्नु, करुणा र मैत्रीभाव राख्नु जस्ता अमर उपदेश बुद्धले मात्रै दिएका होइनन्, अरुले पनि भनेका थिए । तर अरुले उपदेश मात्र दिए, व्यवहारमा उतारेनन्, आफैले अपनाएनन् । तर नेपालको लुम्बिनीमा इ.पू ५६३(६२३) जन्मेका, कपिलवस्तुमा हुर्केका, बोध गयामा गएर बोधीबृक्षमुनि तपश्या गरेर ज्ञान प्राप्त गरेका गौतम बुद्धले व्यवहारमै पुष्टि गरेर देखाए, प्रशंसित भए, प्रचारित हुने मौका पाए । त्याग गरे सवैथोक पाइन्छ, लोभ गरे केही पाइन्न भन्ने विषयका विश्वका एकमात्र प्रमाण वा उदाहरण हुन् गौतम बुद्ध । उनका उपदेशले नछोएको विषय छैन । समता, ममता र सुशासनको पृष्ठपोषण गरेको छ । सवै प्रकारका विभेद अन्त्यको उपाय खोजेको छ । सवै प्राणीको अधिकारको रक्षा, हिंसाको अन्त्य र विश्व शान्तिको मार्ग प्रशस्त गरेको छ । दया र करुणाको मूल फुटाएको छ । शत्रुता हटाएर मित्रता बढाउने बाटो देखाएको छ । यो भन्दा बढी अरु के चाहियो ?
सञ्चारको संसार पनि गज्जबको छ । नौलो कुरा खोज्छ, हावासरी फैलाउँछ । प्राचीन कपिलवस्तु जस्तो सम्पन्न, सभ्य र सुसँस्कृत शाक्य गणराज्यको राजकुमार राजपाठ र सुख सयल त्यागेर हिड्नु सामान्य विषय थिएन । अनि ज्ञानको खोजीमा लाग्नु, दु:ख र कष्ट सहेर तपश्या(ध्यान) गर्नु, ज्ञान प्राप्त गरेपछि त्यसैको प्रचारमा संघ बनाएर अहोरात्र खट्नु, अविचलित भएर आजीवन डट्नु आफैमा अकल्पनीय र चमत्कारिक कार्य थियो त्यसबेला । न पूर्व जन्मको चिन्ता र चासो, न भविष्य र परलोकको लोभको पासो र नासो । वर्तमानलाई नै जीवन र जगतको सार्थक सेवामा समर्पण गरेपछि प्राप्त हुने उपलब्धि हो बुद्ध । शुद्ध थिए । मिसावट र छलकपट थिएन । त्यसैले पनि प्रचारित र प्रशंसित हुने क्रम रोकिएन । बीचमा आएका केही अवरोधलाई समयले लिएको परीक्षा र सिकाएको सवकका रुपमा लिन पर्छ ।
ज्ञान प्राप्तिपछिको ‘पैचालिस वर्षसम्म गाउँ र नगर घुमेर ८२ हजार उपदेश दिएका थिए बुद्धले पृ. ११७ । गौतम बुद्ध मार्गद्रष्टा मात्र थिए । मुक्तिका लागि त आफैले प्रयत्न गर्नुपर्छ भन्दथे पृ. ऐ. । बुद्धकै पालामा र उनीपछि व्यक्तिगत, समूहगत र सँस्थागत हिसावले जति व्यापक रुपमा प्रचार, प्रसार र पठन पाठनको व्यवस्था गरियो, शायदै अरु विचार र दर्शनको गरिए होला त्यति । नालन्दा विश्वविद्यालय, तक्षशीला, बल्लभी, विक्रमशीला, जगदला, ओदान्तपुरी सहित धेरै देशका सरकारहरु आफै प्रचारमा लागेका रहेछन् त्यतिबेला । सवैको नाम यहाँ लेख्न सम्भव भएन यतिबेला यो सानो आलेखमा ।

विचित्रको छ यो संसार ! जस्ले मूर्तिपूजाको विरोध गर्‍यो, उसैका मूर्ति सवैभन्दा बढी छन् विश्वभरि । जस्ले भगवान र इश्वर मानेन, अलौकिक, काल्पनिक र अप्रमाणित विषयमा विश्वास गरेन उसैलाई भगवान र इश्वर बनाइयो, भनाइयो । जो संसारिक सुख, सयल र वैभवबाट मुक्त भयो, उसैका नाममा विहार, गुम्बा, स्तुप र स्तम्भ निर्माण दू्रत गतिमा भैरहेका छन् । जस्ले हरेकलाई आफै प्रकाश बन्न प्रेरित गरे, उनैलाई लाइट अफ एशिया भनियो । नचाहेकाले पाउने, चाहेकाले नपाउने दुनिया हो यो !गौतम बुद्ध, आफैमा यति विख्यात भैसके कि उनका बारेमा हामीजस्ता सामान्य लेखकले जति लेखे वा नलेखे पनि फरक पर्दैन । बुद्धका बिचारका विविध पक्षका बारेमा यति विशद अध्ययन र अनुसन्धान भैसकेको छ कि जति खोज्यो उति पाउन सकिन्छ । तर समाउन सक्ने सामथ्र्यचाहिँ आफुसंग हुन पर्‍यो । जसले समाउन सक्यो, उसले पायो । जसले सकेन उसले आफैसंग रहेर/भएर पनि केही पाएन, गुमायो ।

बौद्ध दर्शन आफैमा यति व्यापक छ कि यो पङ्तीकारजस्ता अखवारी लेखनमा अभ्यस्तका लागि डा. बालकृष्ण चापागाईको ‘बौद्धदर्शन र सञ्चार’ विषयक विद्यावारिधिको शोधग्रन्थका बारेमा टिप्पणी लेख्न लगाउनु महासागरमा गएर मणि खोजेर, टिपेर ल्याउन लगाएजस्तो गाह्रो हुन्छ । अनि सञ्चारको संसार पनि सिङ्गै ब्रह्माण्ड र त्यसभन्दा बाहिरका ग्रह र नक्षत्रादिसम्म पुगी सकेको छ । प्रगतिवादी साहित्यकार रामचन्द्र भट्टराई, सँस्कृतिविद प्रा. डा. गितु गिरी, बौद्धदर्शनका ज्ञाता डा. सुरेन्द्रमान बज्राचार्य, सह–प्राध्यापक एवं सञ्चारविद ऋषिराम भुसाल र पाका विश्लेषक जंगबहादुर शाहजस्ता वरिष्ठ विद्वानहरुले गरेको समीक्षाका अगाडि यो कनिष्ठ स्तम्भकारले कलम चलाउनु धृष्टता सिद्ध हुनेछ । तथापि दुस्साहस गरियो र यति लेखियो सहकर्मी अग्रजको आग्रहमा । शोधग्रन्थका बारेमा शोधकर्ताले नै ‘यसको प्रस्तुती विवरणात्मक तथा विवेचनात्मक रहेको छ, पृ ३११’ लेखिदिएकाले अरु धेरै लेख्नपर्ने अवस्था रहेन । जे होस्, डा. बालकृष्ण चापागाई बौद्धदर्शन र सञ्चारको महासागरमा पौडी खेल्न अग्रसर भएकोमा सहर्ष शुभेच्छा प्रकट गर्नै पर्छ । शायद यसमा आनन्द पनि आइरहेको होला पौडीवाजलाई । तर समुद्रको गहिराईमा पुगेर मणि टिपेर फर्कन कति सम्भव होला ? आगामी दिनले आफै बताउला । प्रतीक्षाको विकल्प रहेन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उडी छुनु चन्द्र एक’ भनेझै हार्दिक धन्यवाद सहित शुभकामना पनि दिनैपर्छ हितैषी अनुजका नाताले । चार दशक अघिदेखि सञ्चारको क्षेत्रमा रहेर, विभिन्न ओहोदामा पुगेर, राजनीति र पत्रकारितालाई परिस्कृत पारेर अघि बढेका डा. चापागाई अब बौद्धदर्शन र सञ्चारको शोधकार्य गरी पाठकहरुका लागि पठनीय सामग्री पुस्तक (ग्रन्थ) उपलब्ध हुनु सुखद छ सबैका लागि । शोधग्रन्थ ‘बौद्धदर्शन र सञ्चार’को पहिलो सँस्करण आफैमा परिचय हो डा. बालकृष्ण चापागाईंको । यो भन्दा अर्को अझ परिमार्जित, उत्कृष्ट र परिष्कृत अमर र कालजयी ग्रन्थ/कृति प्रकाशित हुँदै जाऊन् भन्ने शुभकामना व्यक्त गर्दछु । अहिलेका लागि यत्ति । किमाधिकम् !
भवतु सब्ब मंगलम् ।
तौलिहवा, कपिलवस्तु ।