गण्डकी प्रदेश सांसद मल्लद्वारा भविष्यमा पनि जनतासँगै रहने प्रतिबद्धता

प्रकाशित मिति:

गण्डकी प्रदेशका सांसद तथा नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक भागवत् प्रकाश मल्लले प्रदेश सभाको ५ वर्षे अवधि पूरा भएको सन्दर्भमा सम्पूर्ण स्याङ्जाली र आफूलाई मतदान गर्ने जनताप्रति आभार व्यक्त गरेका छन् । २०७४ सालको निर्वाचनमा स्याङ्जा जिल्ला क्षेत्र नं २ ‘ख’ बाट आफूलाई निर्वाचित गर्ने सम्पूर्ण जनताप्रति कृतज्ञता व्यक्त गर्दै मल्लले ५ वर्षको अवधिमा जनताको सुखदुख र विकास निर्माणसँग सम्बन्धित काममा जुट्ने अवसर दिएकोमा आफ्नो निर्वाचन क्षेत्रका जनताप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको अन्तिम दिन आज उनले आफ्नो फेसबुक पेजमार्फत् जनतालाई बधाइ र आभार व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मलाई स्याङ्जा क्षेत्र नं। २ ‘ख’ बाट निर्वाचित गराई पाँच बर्षसम्म निरन्तर जनताको सुख दुःख र विकास निर्माणसँग सम्बन्धित काममा तल्लिन रहने अवसर प्रदान गर्नुभएकोमा हजुरहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

मल्लले यो ५ वर्षको अवधिमा प्रदेश सभा सदस्यको हैसियतमा के कति कामहरु गर्न सकेँ त्यो कुरा आम जनतासमक्ष जगजाहेर भएको उल्लेख गर्नुभएको छ । ‘गण्डकी प्रदेशको प्रदेश सभा सदस्यको हैसियतमा रहि यो पाँचवर्षे कार्यकालमा मैले के कति कामहरू गर्न सकें भन्ने कुरा आम जनतासमक्ष जगजाहेर नै छ।’ उहाँले भन्नुभएको छ, ‘काम गर्ने सिलसिलामा कतिपय कामहरू अपुरा रहन गएका पनि होलान् त्यस्ता कामहरूलाई पूर्णता दिन आगामी दिनहरूमा समेत मेरो बलबुताले भेटेसम्म प्रयास रहने नै छ। मल्लले २०७४ सालको निर्वाचनमा स्याङ्जाको क्षेत्र नं २ ‘ख‘ बाट विजय प्राप्त गरेर त्यतिबेला स्याङ्जामा काङ्ग्रेसको बिउ जोगाएका थिए । २०४८ सालमा ४ वटै क्षेत्रमा काङ्ग्रेसको चारतारे झण्डा फहराएको स्याङ्जा जिल्लामा २०७४ सालको निर्वाचन काङ्ग्रेसका लागि निकै चुनौतीपूर्ण रहेको थियो । उक्त निर्वाचनमा तत्कालीन काङ्ग्रेस उपसभापति गोपालमान श्रेष्ठ र हाल स्याङ्जा काङ्ग्रेस सभापति राजु थापाले समेत निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।

मल्ल नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष समेत हुन् । उनले तरुण दलको अध्यक्ष भएपछि युवाहरुलाई समेट्दै सङ्गठनलाई बलियो बनाउने काम गरे । युवाहरुको भावना र समस्यालाई गहिरोसँग बुझेका मल्ल स्याङ्जाका तरुण काङ्ग्रेसहरुका बिचमा लोकप्रिय छन् । उनले बिग्रिन थालेको तरुण दलको सङ्गठनलाई एकीकृत बनाएर तरुण दललाई काङ्ग्रेसको बलियो भातृ सङ्गठनका रुपमा स्थापित गरे ।गण्डकी प्रदेश सभामा सांसद भएबाट उनले स्याङ्जा जिल्लामा प्रशस्त विकास निर्माणका योजनाहरु भित्र्याउन सफल भएको स्वयम् विपक्षी दलका नेताहरुले समेत अनौपचारिक सन्दर्भहरुमा बताउने गरेका छन् । उनले एउटा प्रदेश सांसदको हैसियतमा गर्न सक्ने कामहरु गरेर देखाए । बोलीमा भन्दा काममा विश्वास गर्ने नेताका रुपमा उनले आफ्नो छवि निर्माण गरेका छन् ।२०७४ सालको निर्वाचनपछि गण्डकी प्रदेशमा कम्युनिष्टहरुको सरकार थियो । पृथ्वीसुब्बाको नेतृत्वमा रहेको सरकारलाई विदाई गरी काङ्ग्रेस नेतृत्वमा प्रदेश सरकार बनाउने कुरामा सांसद मल्लको भूमिका महत्वपूर्ण रह्यो । यो कुरा तत्कालीन समयमा सरकार निर्माणमा भूमिका खेलेका सांसद दीपक मनाङेले सार्वजनिक वक्तव्यमार्फत् बताएका थिए। उनले मल्लको कारण नै गण्डकीमा नयाँ सरकार बन्न सफल भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

गण्डकीमा काङ्ग्रेस नेतृत्वमा सरकार गठनमा अहम् भूमिका खेलेपछि गण्डकी प्रदेशको मन्त्रीका रुपमा उनको चर्चा भएको थियो । स्याङ्जाका युवाहरुले सामाजिक सञ्जाल र मिडियामा समेत लोकप्रिय युवा नेतालाई मन्त्री बनाएर स्याङ्जामा विकास निर्माणलाई भित्र्याउनुपर्ने आवाज बुलन्द पारेका थिए । पार्टी र सरकारको परिस्थिति मिलाउँदा मल्लले मन्त्री पाएनन् । मन्त्री नपाए पनि मल्ल असन्तुष्ट भएनन् ।मल्लले स्याङ्जाकै सांसद मेखलाल श्रेष्ठलाई मन्त्री बनाउँदा खुसी देखिए । उनले मन्त्री श्रेष्ठको पक्षमा लविङ नै गरे मल्लको सकारात्मक भूमिकाका कारण श्रेष्ठलाई मन्त्री बन्न सहज भएको थियो । मल्ललाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोसित हुँदा समेत मल्लले युवाहरुलाई संयम रहन र प्रदर्शन नगर्न पटक पटक अनुरोध गरिरहेका थिए।यतिबेला स्याङ्जा मात्र होइन, गण्डकी प्रदेशकै विकासवादी युवा नेताका रुपमा मल्लको छवि बनिरहेको छ । आगामी मंसिर ४ को निर्वाचनमा मल्ललाई स्याङ्जा क्षेत्र नं २ मा सङ्घीय सांसदको उम्मेदवार बनाउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि पार्टीभित्र र बाहिर चुलिएको छ । युवादेखि वृद्धसम्म सबैले मल्लले मात्र क्षेत्र नं २ मा एमालेलाई चुनौती दिन सक्ने भएकाले मल्ललाई नै अघि सार्नुपर्ने विचार व्यक्त गरिरहेका छन् । काङ्ग्रेस नेतृत्वले मल्ललाई कुन स्थानमा राख्छ भन्ने कुराले नै स्याङ्जाको आगामी चुनावको भविष्य निर्धारण हुने विश्लेषण काङ्ग्रेसमा मात्र नभएर एमालेवृत्तमा समेत भइरहेको छ । क्षेत्र नं २ बाट सकेसम्म मल्ललाई काङ्ग्रेसले उम्मेदवार नबनाइदिए एमालेलाई सहज हुने एमाले नेताहरुको बुझाइ रहेको छ ।
खवरभण्डार वाट साभार