शान्तिद्वारा आयोजित फुटवलमा जनता र लुम्बिनी सिटी क्वाटर फाइनलमा

प्रकाशित मिति:

रुपन्देही, असोज ५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा जनता माध्यमिक विद्यालय र लुम्बिनी सिटी कलेज विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज भएको पहिलो खेलमा लुम्बिनी सिटीले शिवपुर मा.वि.लाई हराएको छ । शिवपुरलाई ११–० को गोल अन्तरले हराउदै लुम्बिनी सिटी क्वाटर फाइनलमा प्रवेश गरेको हो । लुम्बिनीको जीतका लागि सुशिल कुमार चौधरीले डबल ह्याट्रिक, ललित अशोक गुरुङ र सुनिल गुरुङले २–२ गोल र चिरन्जीवी रेग्मीले १ गोल गर्न सफल भए ।

त्यस्तै दोस्रो खेलमा जनता माध्यमिक विद्यालयले स्कलर्स होमलाई ३–२ गोल अन्तरले हराएको छ । जनताको जीतको लागि बिपिन लामिछाने, दिपक उप्रेती र सुशिल उप्रेतीले १–१ गोल गर्न सफल भने स्कलर्सका तर्फबाट दुबै गोल माधब घिमिरेले फर्काएका थिए । जीतसँगै जनताले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति नमुनाका अतिरिक्त क्रियाकलाप प्रमुख शुसिल पाण्डेले बताउनुभयो ।


प्रतियोगिता अन्तरगत बिहिबारको पहिलो खेल न्यू इन्भाइरमेन्ट स्कुल र पामिर स्कुलबीच हुनेछ । दोस्रो खेलमा अक्सफोर्ड बोर्डिङ्ग स्कुल बिरुद्ध जनप्रिय माध्यमिक विद्यालय खेल्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ ।