शान्तिको फुटवलमा न्यू होराइजन र शंकर मा.वि. क्वाटर फाइनलमा

प्रकाशित मिति:

तिलोत्तमा, असोज ७ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार भएका खेलमा न्यू होराइजन आवासीय मा.वि. र शंकर मा.वि विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आजको पहिलो खेलमा न्यू होराइजनले पशुपति मा.वि. लाई ५–० को गोल अन्तरले हराउन सफल भएको छ । न्यू होराइजनको जीतका लागि मनोज सिलवालले ह्याट्रिक गरे भने भेष बहादुर रेष्मीले २ गोल गर्न सफल भए ।
त्यस्तै दोस्रो खेलमा देवदह आवासीय मा.वि.लाई शंकर मा. वि.ले १–० को गोल अन्तरले हराएको छ । शंकरको जीतको लागि इश्वर थारुले निर्णायक गोल गरेका थिए । जीतसँगै न्यू होराइजन र शंकर मा.वि.ले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोट्स क्लवका कोषाध्यक्ष प्रकाश चापागाईले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत शनिबारबाट क्वाटर फाइनलका खेल हुनेछन् । पहिलो खेलमा लुम्बिनी सिटीले आयोजक शान्ति नमुना मा.वि. को सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा अक्सफोर्ड मा. वि. र पर्ल मा.वि. आमने सामने हुनेछन् । तेस्रो खेल जनता मा.वि र पामिर एकेडेमीबीच हुनेछ भने चौथो खेल न्यू होराइजन आवासीय मा.वि. र शंकर मा. वि.बीच हुने क्लवका सचिव नारायण ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ ।
प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।