गुम्बा निर्माणका लागि पोर्चुगलबाट १२ लाख बढी सहयोग

प्रकाशित मिति:

लिस्बन, १० असोज । दोलखाको गौरीशंकरमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा संकलन गरिएको सहयोग रकम गुम्बा ब्यबस्थापन समितिलाई प्रदान गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ्ग गुम्बाका लागि यहां संकलन गरिएको १२ लाख ५५ हजार ६ सय १४ रुपैयां सहयोग रकम प्रदान गरिएको हो । संकलीत रकम रेमिट्यान्स मार्फत् गुम्बा ब्यवस्थापन समितिलाई पठाईएको सहयोग संकलन समितिका संयोजक धनराज शेर्पाले जानकारी दिनुभयो । निर्माणाधीन गुम्बाको निर्माण सम्पन्न गर्न रकम अपुग भएपछि प्रवासमा सहयोग संकलन अभियान सञ्चालन गरेर आर्थिक संकलन गरिएको शेर्पाले बताउनुभयो ।

शेर्पाले राजधानी लिस्बनमा सञ्चालन गरेको एभेरेष्ट रेष्टुरेण्टमा राखिएको दान बाकसमा जम्मा भएको २ लाख ११ हजार ४ सय २ रुपैयां, पोर्चुगलमा संकलन गरिएको २ लाख ३७ हजार ५ सय ९८ रुपैयां, शेर्पाले ब्यक्तिगत रुपमा प्रदान गरेको १ लाख ५१ हजार रुपैयां, र बेल्जियममा संकलन भएको ६ लाख ५५ हजार ६ सय १४ रुपैयां गरि कुल १२ लाख ५५ हजार ६ सय १४ रुपैयां गुम्बा ब्यबस्थापन समितिलाई प्रदान गरिएको उहांले बताउनुभयो । गुम्बाका सल्लाहकार समेत रहनुभएका शेर्पा र वाङ्गेल लामाको पहल तथा सकृयतामा पोर्चुगल र बेल्जियममा सहयोग रकम संकलन गरिएको हो । गुम्बा निर्माणका लागि १५ लाख रुपैयां सहयोग गर्ने लक्ष्य अनुरुप सहयोग संकलन गरिएको र संकलन अभियान जारी नै रहेको शेर्पाले बताउनुभयो ।