कांग्रेस नेता डा. दामोदरको सुझाव : सरकार कांग्रेस र एमालेको, माओवादी प्रतिपक्ष

प्रकाशित मिति:

बुटवल, १७ मंसिर । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले मुलुकमा राजनीतिक स्थायित्व र स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर पांच वर्ष टिक्ने सरकार चलाउर्नुपर्ने बताएका छन् । भुसालले कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार नचलाउने हो भने देश सधैंभरि अस्थिरताको दुश्चक्रमा फस्ने बताए । शनिबार बुटवलमा पत्रकारसंग कुराकानी गर्दै भुसालले मंसिर ४ को चुनावको जनादेशले कसैलाई वहुमत नदिएकाले लोकतन्त्रका लागि संगै आन्दोलन गरेका दुई ठूला दलहरु मिलेर सरकार चलाउनुपर्ने र माओवादी सहितका दलहरु प्रतिपक्षमा बस्नुपर्ने तर्क गरे ।

नेता भुसालले नेकपा माओवादी केन्द्रका कारण २०६४पछि देशमा राजनीतिक अस्थिरताले निरन्तरता पाएको आरोप लगाउंदै यसपटक माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिपक्षमा बसेर रचनात्मक भुमिका खेल्नुपर्ने बताए । कांग्रेस र एमाले मिलेर यसपटक पनि पांच वर्ष टिक्ने सरकार दिन नसके मुलुकमा वाह्य शक्तिको चलखेल बढ्ने र राजनीति विदेशीको इशारामा चल्ने शक्तिको हातमा जाने खतरा औंल्याए । ‘कांग्रेस र एमालेको नेतृत्व गम्भीर भएर सोच्न जरुरी छ’–डा. भुसालले भने–‘माओवादी र नेकपा एससहितका दलहरु प्रतिपक्षमा बसेर भूमिका खेल्नुपछ,जनादेश विपरित उनीहरु सरकारमा जानु हुंदैन,कांग्रेस र एमालेले पनि सरकारमा सहभागी गराउनुहुन्न ।’