प्रचण्डले प्रधानमन्त्री दावी गर्नु जनादेशविरुद्ध : डा. भुसाल

प्रकाशित मिति:

बुटवल, ४ पुस । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले माओवादी केन्द्रले सरकारको नेतृत्व दावी गर्नु जनादेश विरुद्ध हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न राजनतिक सक्रियता देखाएकोप्रति लक्षित गर्दै नेता भुसालले माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नु अप्राकृतिक र जनादेश विपरित रहेको बताएका छन् ।

सोमबार तिलोत्तमामा पत्रकारहरुसंग कुरा गर्दै नेपाली कांग्रेसभित्र संस्थापन पक्षका नेता भुसालले हालै सम्पन्न निर्वाचनले माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने मत नदिएर पहिलो र दोस्रो ठूलो दल भन्दा धेरै कम मत दिएर तेस्रो दल बनाइदिएकाले उसले सरकारको नेतृत्वमा दावी गर्न नकिल्ने तर्क गरे । ‘अल्पमतले बहुमतमाथि राज गर्ने मनसाय त्याग्नु पर्छ,राजनीतिलाई अस्थिर बनाउने सबै खाले अभ्यासहरु रोकिनु पर्छ’–डा.भुसालले भने–‘ माओवादीले ९ लाई १० हुन १ अंकको भुमिका रहन्छ भन्दै थपिएको १ ले बाँकी ९ वटा १ को भुमिकालाई कुल्चिने र नजरअन्दाज गरी कांग्रेससंग ब्ल्याकमेलिङ गरिरहेको छ ।’

लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान सदस्य समेत रहेका नेता भुसालले माओवादी केन्द्रले आफ्नो जनमत अनुसारको हैसियतमा सरकारमा सहभागिता वा दुई ठूला दल मध्ये एकलाई निशर्त समर्थन गरेर ५ वर्ष स्थिर सरकार चलाउन दिनुपर्ने तर्क गरे । उनले स्थिर सरकारका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको सरकार उत्तम बिकल्प हुनसक्ने पनि औंल्याएका छन् । ‘पहिलो हुने दलले प्रधान भुमिका लिने दोस्रो हुने दलले दोस्रो भुमिकामा रहेर स्थिर सरकार दिने अभ्यास लोकतन्त्र स्थागत नहुदा सम्मका लागि जरूरी देखिन्छ’–उनले भने–‘निर्वाचनबाट प्राप्त जनादेशले स्थिर राजनैतिक प्रणाली लागि प्रमुख दलहरुका बिचमा उच्च प्रकृतिको सहकार्य खोजेको छ ।’

राजनीतिक दलहरुले सरकार गठनको संवादको प्रारम्भिक विन्दु स्थिर सरकारको सुनिश्चितता कसरी गर्ने र अस्थिर राजनीतिको दलदलबाट नेपाललाइृ कसरी मुक्त गर्ने भन्नेमा केन्द्रीत हुनुपर्ने भुसालले सुझाएका छन् ।२०५२ सालमा माओवादी विद्रोह प्रारम्भ हुंदादेखि झण्डै दुई तिहाईको जनादेश प्राप्त केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार बिघटन हुंदासम्मको राष्ट्रिय परिस्थिति एवम् नेतृत्वत हमा रहेका व्यक्तिहरूको भुमिका र तिनको मनोदशा समेतको निष्पक्ष र वस्तुपरक विष्लेषण गर्दै सरकार गठनको प्रकृयामा अगाडि बढ्नु पर्छ । यसो हुँदा दल र तिनका नेताहरूलाई थप जिम्मेवार हुन बल पुग्नेछ’–भुसालले भने ।विगतमा माओवादी र एमालेका बीचमा सत्ता सञ्चालनको गोप्य सहमतिले गर्दा विवाद उत्पन्न भई देशको महत्वपूर्ण समय खेर गएको तथ्यलाई नभुली दलहरुले अप्राकृतिक र अदृश्य रुपमा कुनै सहमति गर्न नहुने पनि उनले सुझाएका छन् ।कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नसके एमालेको नेतृत्वमा एमाले र माओवादी सहित साना दल एवम् स्वतन्त्र सांसदहरुको सरकार बन्दा सरकार गठनको प्रक्रिया प्राकृतिक हुने र यो स्थायी पनि हुने भुसालको तर्क छ ।