शान्ति नमुनाले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

प्रकाशित मिति:

रुपन्देही, पुष २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव, सामीप्यता तथा आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता आगामी माघ ९ गते सोमबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१० हजार, द्वितीय हुनेलाई नगद रु. ७ हजार, तृतीय हुनेलाई नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।