बुटवल- फागुन । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ । गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो ।पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीयबासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीब्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने भएको हो ।
प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताउनुभयो । उहाँले आगामी वर्षायाममा स्थानीयलाई जोखिम हुन नदिनका लागि पहिरो नियन्त्रण गर्ने, पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम शुरु भएको बताउनुभयो ।उहाँले पहिरोले बस्तीमा झारेको लेदो हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी बनाउने काम शुरु भएको बताउनुभयो ।यो क्षेत्रका बासिन्दाले सुरक्षित रुपमा बस्न पाउने अधिकार सुरक्षित गर्नका लागि हामीले सक्दो प्रयास गरेका छौं, उहाँले भन्नुभयो–यो पहिरोको जोखिम धेरै नै ठूलो हुनसक्ने भएकाले यसमा प्रदेश र संघले पनि हामीलाई साथ दिनुपर्छ, हामी सँगसँगै यो पहिरो नियन्त्रण गर्न सक्छौं ।’
अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताउनुभयो ।पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्सकल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताउनुभयो ।यसवर्ष भएको कामले विगतमा जस्तो बाढीको जोखिम नहुने ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताउनुभयो ।
‘बुटवल उपमहानगरपालिकाबाट अहिले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, उहाँले भन्नुभयो–गएको वर्षायाममा निरन्तरको प्रयासले बाढीपहिरो बस्तीमा पस्न पाएन, आगामी वर्षायामहरुमा पनि जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौं भन्नुभएको छ, यसले हामी यहाँका बासिन्दालाई सुरक्षित महसुस गराएको छ ।’ज्योतिनगर पहिरोको जोखिम न्यूनीकरण गर्नका लागि यसपटक बुटवल उपमहानगरपालिकाले थालेको प्रयासले बस्ती सुरक्षित हुनेमा स्थानीय खगेश्वर न्यौपाने विश्वास व्यक्त गर्छन् ।‘विगतमा जसरी क्षति भयो, अब त्यस्तो क्षति हुनेछैन भन्ने विश्वास हामीलाई लागेको छ, उहाँले भन्नुभयो–रातदिन खटेर भएपनि जोखिम कम गर्न प्रयास गर्छौं भन्ने कुराले हामीलाई विश्वास लागेको छ ।’गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।












