बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताउनुभयो । उहाँले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने बताउनुभयो ।
हामीले अहिले शौचालय र स्नानलाई निशुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट निशुल्क भएको छ, उहाँले भन्नुभयो–छिटै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ, जसले बस चढ्न र ओर्लिन आउनेहरु विश्राम गर्न अन्यत्र जानपर्ने बाध्यता हट्नेछ ।’उहाँले बसपार्कभित्रका धेरै समस्याहरु समाधान गर्दै सफा र सुरक्षित बनाउने काम उपमहानगरपालिकाले निरन्तर गरिरहेको बताउँदै बस टर्मिनलको भवनमा छिटै नै स्तरीय क्यान्टिन सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।हामीकहाँ विमानस्थलहरु सुविधासम्पन्न हुन्छन्, तर बसपार्कहरु चोरीडकैती गर्ने ठाउँजस्ता भएका छन्, उहाँले भन्नुभयो–बसपार्कलाई पनि सुविधासम्पन्न बनाउने र सुरक्षित बनाउने काममा हामी लागेका छौं, त्यसका लागि यातायात व्यवसायी, मजदुर, व्यवसायी र स्थानीयको साथ आवश्यक रहन्छ ।’
उहाँले बसपार्क क्षेत्रलाई अरु विस्तार गर्दै बहुतले पार्किङ स्थल र उच्च क्षमताका लाइटहरु राख्ने तयारीमा रहेको बताउनुभयो ।
वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निशुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गर्नुभयो ।बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त भएपछि आउने कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ, उहाँले भन्नुभयो–मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख हुनेछन् ।’












