अबैध उत्खननमा संलग्न पाच ट्याक्टर प्रहरी नियन्त्रणमा 

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

फाल्गुन ३० गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलासँग जोडिएको खेत(बगर) बाट अवैध उत्खननमा संलग्न ५ वटा ट्र्याक्टरलाई बर्दघाट नगरपालिकाले नियन्त्रणमा लिएको छ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय सहितका जनप्रतिनिधि र नगर प्रहरीको टोलिले खजुरा खोला अनुगमनका क्रममा अवैध उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयको सहयोगमा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो। जथाभाबी रुपमा अवैध उत्खनन् भएको भन्ने आम गुनासो पछि नगरपालिकाले खजुरा खोलाको टेन्डर खुलाएको छैन ।

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको गुनासो पछि यस पटकलाई खोलाको टेन्डर नखुलाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो। पूर्ण रुपमा अवैध उत्खनन् रोक्नकालागी नगर प्रहरी समेत परिचालन गरिएको श्रेष्ठले बताउनु भयो।खजुरा खोलामा लुकिछिपी दिनदहाडै अवैध उत्खनन् हुने गरेको स्थानीयको भनाई छ।

आज करिब ११ बजेको समयमा जनप्रतिनिधि सहितको टोली खोलामा पुग्दा अवैध रुपमा संलग्न रहेको लु ४ त २५२३,लु ४ त २२१२,लु ३ त ६१५,लु ४ त ९०९४ र लु ३ त ३३६ नम्बरको ५ वटा ट्र्याक्टरलाई नियन्त्रण लिइएको हो।नियन्त्रणमा लिईएका ट्र्याक्टरहरूलाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ।

यता निर्माण व्यवसायीहरूले भने नदीजन्य पदार्थको अभावमा विकास निर्माणमा असर परेको र परिस्थिति असहज बनेको बताउँदै आइरहेका छन् ।