बुटवल, चैत । बुटवल उपमहानगरपालिकाले नापजाँच हुन बाँकी रहेका लालपूर्जाविहिन जग्गाहरुको सर्भे शुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरुमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे शुरु गरेको हो ।बुटवल ११ सिर्जनानगरमा सर्भेको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्र लालपूर्जा नपाएकाहरुलाई लालपूर्जा दिलाउनका लागि उपमहानगरपालिकाले सबै प्रयास गर्ने बताउनुभयो ।उहाँले लालपूर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लकहरु छिटै नै नापजाँचको प्रक्रियामा जाने बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले अहिले वडा नं २, ११ र १२ का जग्गाहरुको नापजाँचको प्रक्रिया शुरु भएको र छिटै नै लालपूर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताउनुभयो ।वडा नं. २ का करीब ३ सय घरधुरी, ११ का करीब ४ सय घरघडेरी र १२ का करीब १ सय २० घरधुरीको नापजाँच अगाडि बढेको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भूर्तेलले जानकारी दिनुभयो । उहाँले डीजीपीएस् सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिश गरेर पठाएपछि लालपूर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । सर्भेमा बुटवल उपमहानगरपालिकाका ५ जना सर्भेक्षकहरु खटिएको र छिटै नै डीजीपीएस् सर्भे पूरा गरी नापजाँचको काम शुरु गर्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिनुभयो ।












