राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

प्रकाशित मिति:

रामग्राम , फागुन गते । क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ ।बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताउनुभयो । उहाँले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताउनुभयो । उहाँले आफूहरूको अबको लक्ष्य विश्वकप छनोट भएको उल्लेख गर्नुभयो । “अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो । त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,” उहाँले भन्नुभयो ।उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेको हो । नवलपरासी बर्दघाट –१४ निवासी पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो ।
तस्विर क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा सोमवार सम्मान गर्दै संघीय सांसद विनोद चौधरी ।