सनातन हिन्दु धर्म अन्य सबै धर्मको जननी भएकोले यसको संरक्षण गर्नु सबैको साझा दायित्व
हरिश ढकाल- बुटवल, चैत्र । सनातन हिन्दु धर्म नै बिश्वको सबैभन्दा पुरानो धर्म भएको बिश्व हिन्दु महासंघ नेपालको महासभामा बोल्ने धार्मिक, सामाजिक र राजनैतिक बक्ताहरुले दावी गरेका छन् । मंगलबारबाट बुटवलमा शुरु भएको नेपाल राष्ट्रिय समितिको महासभा तथा अधिबेशनमा बोल्ने बिभिन्न क्षेत्रका बिद्धान बक्ताहरुले हिन्दु धर्म मानव सभ्यताको प्रार्दुभावसँगै विकास भएको धर्म भएकोले हिन्दु धर्म अन्य सबै धर्मको जननी भएको समेत जिकिर गरेका छन ।महासभामा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा सनातन हिन्दु राष्ट्र कायम गर्नका लागि सबै एकजुट भै निर्णायक आन्दोलनका लागि उभिनुपर्ने समय आएको बताए । केही राजनैतिक दलले हिन्दु अधिराज्य नेपाललाई बिदेशीको ईसारामा नाचेर धर्म निरपेक्ष बनाएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले धर्मले समाज र मानिसलाई अनुशासित मयार्दित बनाउने बिश्वास ब्यक्त गरेका थिए । अध्यक्ष लिङ्गदेलले भने—अव समाजलाई सुसंस्कृत बनाउने हो भने बिद्यालय तहबाटै धार्मिक र नैतिक शिक्षा दिनु पर्छ ।
विश्वहिन्दु महासंघका केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीले बर्तमान परिवेशमा मानवतावाद, सामाजिक न्याय, प्रकृतिको संरक्षण र आध्यात्मिक समाज निर्माणका लागि सबैलाई उत्प्रेरित गर्नु गराउनु नै हिन्दु धर्मको मुल लक्ष र उद्देश्य भएको बताए । अध्यक्ष डा. अधिकारीले भने—हिन्दु धर्मले मानिस मानिसबिचको बिभेद र हिंसालाई कहिल्यै स्विकार गर्दैन । नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले संसारमा रहेका सबै धर्म र सिद्धान्तहरुको माउ धर्म वा गुरुधर्म एक मात्र सनातन हिन्दु धर्म भएको दावी गरेका छन् ।भारत केरालाका सन्तमुनी घनश्याम स्वामी, नेपाली काँग्रेस जिल्ला सभापति तथा तिलोत्तामा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, धार्मिक चिन्तक डा. चिन्तामणी योगी, महासभा तयारी समितिका संयोजक तथा बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, बिश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिबक्ता बेनबहादुर पौडेल क्षेत्रीलगाएतले सनातन हिन्दु धर्मको संरक्षणबाट मात्र सभ्य समाजको निर्माणमा सघाउ पुग्ने बिचार ब्यक्त गरेका थिए ।












