बुटवल उपमहानगरपालिकाको देवीनगरमा आज आयोजित एक औपचारिक समारोहमा युएसएड नेपालकी प्रमुख सेपिदे केभिएन्शाद र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संयुक्त रूपमा युएसएड नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रमको शुभारम्भ गर्नुभयो । साढे १८ मिलियन अमेरिकी डलर सहयोगमा पाँच वर्षसम्म चल्ने सीएसएम कार्यक्रमले पारदर्शी, जवाफदेही र जिम्मेवार नागरिक समाज र मिडियाको माध्यमद्वारा समावेशी विकास गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई सहयोग पु¥याउनेछ । द एसिया फाउन्डेशनमार्फत् कार्यान्वयन हुने सीएसएम कार्यक्रम मुख्यतः लुम्बिनी र मधेस प्रदेशमा केन्द्रित हुनेछ ।
सीएसएम कार्यक्रमले महिला, युवा र सीमान्तकृत समुदायको विकासका लागि तिनकै नेतृत्वमा सञ्चालित स्थानीय नागरिक समाज र मिडियाको सबलीकरणलाई सहयोग गर्नेछ । कार्यक्रमले स्थानीय समुदायको आवाजलाई मुखरित गर्ने र विकास प्रयासमा देखा परेका विभिन्न चुनौतिको सम्बोधनका निम्ति स्थानीय संघसंस्थालाई आर्थिक सहयोगको अवसर उपलब्ध गराउने उद्देश्य लिएको छ । समुदायमा देखा परेका चुनौतिको सम्बोधनका लागि समुदायकै अग्रसरतामा समाधान पहिल्याउने स्थानीय क्षमताको अभिवृद्धि गर्नु सीएसएम कार्यक्रमको प्राथमिकतामा पर्छ ।
सीएसएम कार्यक्रमको शुभारम्भ समारोहमा लुम्बिनी प्रदेश सभाका सदस्य सुशीला वादी, फातिमा फाउन्डेशनका अध्यक्ष मैमूना सिद्दिकी र पत्रकार विनोद परियारले लोकतन्त्रमा नागरिक समाज र मिडियाको भूमिकाबारे बोल्नुभयो ।शुभारम्भ समारोहमा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले भन्नुभयो, “सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका लागि आएको सीएसएम कार्यक्रम लक्षित समुदायसम्म पुगोस् । सञ्चार माध्यममा आवाजविहीनको आवाज ल्याउन, सदनमा आवाजविहीनको आवाज ल्याउन र सरकारी नीति तथा कार्यक्रममा उनीहरुको आवश्यकता समेटेर समग्रमा उनीहरुको जीवनस्तर फेर्न सहयोगी बनोस् । पारदर्शिता र जवाफदेहितामा कतै नचुकोस् ।युएसएड नेपालकी प्रमुख सेपिदे केभिएन्शादले भन्नुभयो, “सरकार, नागरिक समाज, मिडिया र सीमान्तकृत समुदाय, युवा र महिलाको भूमिका स्थानीय मुद्दाको समाधानमा अत्यन्तै महत्वपूर्ण हुन्छ । वृहत्तर एवं विविधतापूर्ण नागरिक सहभागिताको अधारमा स्थानीय मुद्दा सम्बोधन गर्नु स्वतन्त्र र खुला समाजको चिनारी हो । नेपालको लोकतन्त्रलाई बलियो बनाउने दिशामा नेपालसँगको साझेदारीलाई निरन्तरता दिन पाउनु हाम्रो लागि गौरवको विषय हो ।”
यसैगरी, द एसिया फाउन्डेशनका नेपाल प्रतिनिधि मेगन नाल्बोले भन्नुभयो, “समुदायमाझ सक्रिय आत्मनिर्भर एवं उत्थानशील स्थानीय संघसंस्थासँग स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय समस्या समाधान गर्ने सामथ्र्य छ भन्ने हामीलाई थाहा छ । आज हामी लुम्बिनी प्रदेशभरिका ती सबैको सम्मानमा भेला भएका छौँ, जसले समुदायको विकासमा जीवन अर्पण गरेका छन् । आगामी वर्षमा आर्थिक सहायता, नेतृत्व विकास र लुम्बिनी प्रदेशका बासिन्दाले भोगिरहेका समस्याको सबैभन्दा उपयुक्त समाधान पहिल्याउन साझेदारी गर्ने अवसरमा स्थानीय समुदायको पहुँच बढ्नेछ भन्ने अपेक्षा छ ।शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका विभिन्न १० जिल्लाबाट आएका सीमान्तकृत समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, प्राज्ञिक व्यक्तित्व, विकासकर्मी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र अन्य विभिन्न क्षेत्रका प्रतिनिधिको पनि सहभागिता थियो ।युएसएडको सहयोगमा सन् २०१६ देखि सन् २०२२ सम्म सञ्चालित नागरिक समाजः पारस्परिक जवाफदेहिता कार्यक्रम (सीएसम्याप)को सिकाई एवं नागरिक समाज र मिडिया साझेदारसँगको छलफलको आधारमा सीएसएम कार्यक्रम (सन् २०२२–२०२७)को प्रारूप तयार गरिएको छ ।












